

काठमाडाैं- भारत सरकारले १५६ वटा ककटेल औषधिहरूमाथि प्रतिबन्ध लगाएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले एउटा परिपत्र जारी गर्दै ती औषधिको उत्पादन, भण्डार र बिक्री वितरण तुरुन्त रोक्न पनि आदेश दिएको छ। प्रतिबन्धमा पर्नेमा भारतमा मात्र नभएर विश्वमै ख्याती कमाएका सिप्ला, टोरेन्ट, सन फार्मा, आईपीसीए ल्याब्स र लुपिन जस्ता ठूला फार्मा कम्पनीका उत्पादन पनि छन् ।
अघिल्लो वर्ष पनि त्यहाँ १४ वटा कम्पनीले उत्पादन गरेका औषधिको उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धित औषधिहरूको सूचीमा पेन किलर, मल्टिभिटामिन, एन्टिपारासिटिक्स, एन्टिएलर्जीक्सका औषधि पनि समावेश रहेको भन्दै न्यूज १८ ले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।
प्रतिबन्धमा परेका धेरैजसो ककटेल औषधिलाई सन् १९८८ भन्दा अगाडि नै उत्पादनको अनुमति दिइएको थियो ।
सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार ककटेल औषधिको सेवनले मानव शरिरमा जोखिम छ । प्रतिबन्ध लगाइएको औषधिको सुरक्षित विकल्प भने उपलब्ध रहेको त्यहाँको मन्त्रालयले बताएको छ ।



