

काठमाडाैं- अन्य रोग जस्तै स्क्रब टाइफाइ एक प्रकारको सरुवा रोग हो । यो रोग किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मनिसमा सर्दछ । यो रोग माइटमा पाइने ‘ओरेइन्सिया सुसुगामुसी’ भन्ने जिवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजंगल, घर वरिपरीका झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ ।
स्क्रब टाइफस कसरी सर्छ ?
यो त्यस्तो प्रकारको सरूवा रोग हो जुन मुसामा लाग्ने किरा जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।
स्क्रब टाइफसका लक्षणहरू
-धेरै ज्वराे आउनु (कम ज्वराे समेत आउन सक्छ) ।
– धेरै टाउको दुख्नु तथा पसिना धेरै आउनु ।
-आँखा रातो हुनु ।
-झाडापखाला लाग्नु ।
-किरा (माइटस)ले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु ।
बच्ने उपायहरू
-खेतबारीमा काम गर्दा वनजंगल/झाडीमा जाँदा वा घाँस काट्दा पूरै शरीर ढाकिने कपडा लगाउने । साथै सम्भव भएसम्म भुँइसम्मकाे बुट लगाउने ।
– घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुँइमा नबस्ने, खाट वा अग्लो स्थानमा सुत्ने/बस्ने ।
-सकेसम्म घाँसबारी र चउरमा नबस्ने, चउर वा बारीमा घाँस तथा घुरान बढ्न नदिने ।
-मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरण सिर्जना गर्ने ।
स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरून्त नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ ।
-राष्ट्रिय स्वस्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सूचनामा आधारित



