

काठमाडाैं- हैजा भिब्रियो कोलेरा भन्ने एक प्रकाको व्याक्टेरियाको कारणले हुने संक्रमण हैजा हो । जसको असरले निरन्तर पातलो दिसा आउनसक्छ । नेपालमा लामो इतिहास बोकेको हैजा धेरै देशबाट उन्मुलन भएतापनि नेपालमा निरन्तर देखिरहेको छ । जसले जथाभावी खानपिन गर्ने आनीबानीमा अझै पनि सुधार नभएको संकेत गरेको छ ।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार हैजा लाग्दा दिसा एकदमै पातलो वा चौलानी पानी जस्तो आउने, बिरामीले दुखाइको महसुस नगरे पनि उसको शरीरको सोडियम पोटासियमको मात्रा नमिलेर मांशपेशीहरू बाउँडिने हुन्छ । अशुद्ध पानी पिउँदा, जथाभावी खानेकुरा खाँदा लगायत सरसफाईमा ध्यान नदिंदा यसको सङ्क्रमण व्यापक रूपमा फैलिने गर्छ । विशेषगरी संक्रमित व्यक्तिको दिशा मिसिएको पानी तथा खानेकुरामार्फत हैजा सर्ने उनले बताए ।
अन्य ठाउँको तुलनामा पिडाैलाको मांशपेशी बढी मात्रामा बाउँडिने हुन्छ । त्यस्तै बान्ता आउने आदि लक्षणहरू जटिल किसिमको हैजा हुँदा देखिने गर्छ । सामान्य किसिमको हैजामा झाडापखालासँग मिल्दो जुल्दो लक्षणहरू देखिन्छन् भन्ने जानकारी उनले स्वास्थ्य डायरीलाई दिए ।
उनी भन्छन्, ‘बच्ने उपाय अपनाइयो भने हैजा त्यति जटिल छैन । हैजाबाट बच्नलाई व्यक्तिगत रूपमा सफा पानी पिउनुपर्छ, व्यक्तिगत सरसफाई गर्नुपर्छ र शाैचालयको राम्रो व्यवस्था गर्नुपर्छ । सरोकारवालाहरूले समय-समयमा पिउने पानीकाे अनुगमन गर्नुपर्छ, त्यसलाई निरन्तरता दिनुपर्छ र कडाईका साथ लागू गर्नुपर्छ ।
पातलो दिसा लागेको छ भने प्रशस्त मात्रामा जीवनजल पिउनुपर्छ । तर जटिल किसिमका हैजाको लक्षण देखियो, जस्तै चौलानी पानी जस्तो दिसा आउने, बान्ता हुने आदि भएमा तुरुन्त अस्पताल गएर उपचार गराउन उनी सल्लाह दिन्छन् । प्रयोगशालाबाट परीक्षण गरेपछि नै हैजा हो वा होइन भन्ने पुष्टि हुने उनले बताए ।



