-डा. ओम मूर्ति अनिल
हामीले हाम्रो दिमागमा जस्तो कुरा राख्छौं, हामीलाई हाम्रो जीवन पनि त्यसरी नै चलेको महसुस हुन्छ भनेर लेखक टिडियस् फोरस्कले भनेका छन् । उनी ‘थिङ्क स्ट्रिक, चेन्ज योर थट चेन्ज योर लाईफ’ पुस्तकका लेखक हुन् ।
हाम्रो दिमागमा दिन प्रितिदिन फरक फरक कुराहरू आइरहन्छन् । तनावमा व्यक्तिले खतराको अनुभव गर्छ, परिस्थितिसंग संघर्ष गर्छ, शारिरीक प्रतिक्रियाहरु उत्पन्न हुन्छन् र लामो समय रहेमा थाक्ने स्थिति पनि आउनसक्छ ।
यसरी गर्नुहाेस् तनाव व्यवस्थापन
-तनावलाई व्यवस्थापन गर्न आफूभन्दा कमजोर व्यक्तिसँग आफूलाई तुलना नगर्नुहाेस्, आफूले गरेको काममा सन्तुष्ट बन्नुहाेस्, सँधै कुनै न कुनै कार्य गर्न सकृय भइरहनुहाेस्, अरुलाई दोष लगाउनुभन्दा आफूमा पनि कमजोरी खोज्ने कोसिस गर्नुहाेस् र आफ्नो कमजोरीलाई स्विकार गर्ने बानी बसाल्नुहाेस् ।

-आफूसँग जोडिएका व्यक्तिहरूको नराम्रो भन्दा राम्रो गुण वा कुराहरू बढी खोजी गर्ने र त्यसलाई अनुसरण गर्ने अरुको कमी कमजोरीलाई स्विकार गर्ने, अरू व्यक्तिले के गर्यो कसो गर्यो भनेर आवश्यकता भन्दा बढी नसोच्ने ।
-आफ्नो कार्यलाई बढी ध्यान दिने, आफूले सुधार्नु पर्ने कुराहरू पत्ता लगाउने कोसिस गर्ने, आफूले अरुमा देखेका नराम्रा व्यवहार आफूमा छ भने त्यसलाई हटाउने कोशिस गर्ने ।
– हामीले जति अरुको बारेमा नराम्रा कुरा गर्छौं, सोच्छौं, सुन्छौं, देख्छौं त्यति नै हाम्रो दिमागमा नराम्रो कुरा आउँछ । जति राम्रा कुरा देख्छौं, सुन्छौं, सोच्छौं त्यति नै हाम्रो दिमागमा राम्रो कुरा आउँछ । त्यसैले सकेसम्म सकरात्मक सोच भएका व्यक्तिहरूसँग हिमचिम बढाउने वा साथी बनाउने, जसले हामीलाई सकरात्मक सल्लाह सुझाव दिने गरोस् । सकेसम्म सबैलाई माया, सद्भाव र सम्मानको दृष्टिले हेर्ने ।
-खासमा भन्नु पर्दा सकरात्मक सोच भनेको एक अभ्यास हो । जुन निरन्तर लामो समयको प्रयासपछि प्राप्त हुन्छ । यसको लागि हामीले हाम्रो दैनिकीलाई नै सुधार गर्नुपर्छ । हामीले हाम्रो मस्तिष्कलाई जसरी तालिम दिन्छौं वा जसरी गाइड गर्छौं, त्यसले तेस्तै सोच्न थाल्छ ।








