काठमाडाैं- नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको हो ।
हैजाबाट ललितपुरमा सबैभन्दा धेरै ४१ जना बिरामी भएका छन् । पछिल्ला पाँच दिनमा काठमाडौंमा पाँचजनामा हैजा पुष्टि भएको छ । योसँगै काठमाडौंमा सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । हैजा सङ्क्रमित ५८ जनामध्ये ५६ जना निको भइसकेका छन् ।

हैजा एस भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले सानो आन्द्रामा हुने सङ्क्रमण हो । यो सुरुमा सामान्य रूपमा देखिएपनि पछि जटिल बन्न सक्छ । हैजाको किटाणू शरीरमा प्रवेश गरेको दूई घण्टादेखि पाँच दिनसम्म यसका लक्षणहरु देखिने गर्दछन् ।
अस्पतालका संक्रामक रोग विज्ञका अनुसार अशुद्ध पानी पिउँदा, जथाभावी खानेकुरा खाँदा लगायत सरसफाईमा ध्यान नदिंदा यसको सङ्क्रमण व्यापक रूपमा फैलिने गर्छ । विशेषगरी संक्रमित व्यक्तिको दिशा मिसिएको पानी तथा खानेकुरामार्फत यो सर्दछ ।

निरन्तर दिशा लाग्नु, दिशा पातलो चौलानी जस्तो हुनु, मुख सुख्खा हुनु, शरीरका मांसपेशी बाउडिनु, बान्ता हुनु रिंगटा लाग्नु, टाउको दुख्नु, धेरै पसीना आउनु आदि यसका लक्षणहरू हुन् ।
शुद्ध पानी पिउने, सम्भव भएसम्म उमालेको पानी मात्र पिउने, दिशापिसाब चर्पीमा मात्र गर्ने, दिशा पिसाब गरिसकेपछि राम्ररी हात धुने, विशेष सरसफाइमा ध्यान दिने, पातलो दिशा लागिरहेमा तुरून्त अस्पताल जाने जस्ता कार्यले यसबाट बच्न सकिन्छ ।
सम्बन्धित निकायले खानेपानीमा आवश्यक मात्रामा अनुगमन गर्ने, अनुगमनलाई नियमित बनाई त्यसलाई निरन्तरता दिने र कडाइको साथ लागू गर्नाले पनि यसको सङ्क्रमणबाट बच्न बचाउन सकिन्छ ।







