काठमाडौं, १९ साउन । चारसय वर्षको इतिहास बोकेको सिंहदरवार वैद्यखाना यतिबेला पुनर्जीवनका लागि संघर्षरत छ । दक्षिण एशियाकै प्रतिष्ठित र वैभवशाली संस्थाको यति तीव्र क्षयीकरण हुँदापनि सरकार र सरोकारवाला बुद्धिजिवी वर्ग मुकदर्शक बनेका छन् ।
प्रताप मल्लको पालामा सुरु भएको ऐतिहासिक संस्था राजनीतिक भर्तिकेन्द्र र अकर्मण्यताको शिकार बन्दै जाँदा अस्तित्व नै हराउने अवस्थामा पुगेको हो । पूर्वीय सभ्यताको एउटा धरोहर नै भत्किने अवस्थामा पुग्दैगर्दा वैद्यखाना चलाउने जिम्मेवारी पाएका आयुर्वेद व्यवस्था विभागका महानिर्देशक डा. प्रदीप केसीले सुधारका पाइलाहरु चालेको र परिणामहरु पनि देखिन थालेको बताएका छन् ।
मल्लकाल, राणाकाल र शाहकाल हुँदै गणतान्त्रिक व्यवस्थासम्म आउँदा वैद्यखानालाई राजनीतिक भर्तिकेन्द्र र अकर्मण्य व्यवस्थापनबाट सञ्चालन गर्दा वैद्यखाना नचल्नेमात्र होइन । यसले उत्पादन गर्ने कयौं औषधि नै लोप भएको छ ।
चारवर्षमा ११ जना कार्यालय प्रमुख
सिंहदरवार वैद्यखानाले पछिल्लो समय औषधि निकाल्ने भन्दापनि हाकिम परिवर्तन गरेर नै समय बिताएको छ । २०७६ सालयतामात्र वैद्यखानाले ११ जना कार्यालय प्रमुख पाएको छ । २०७६ साल यता क्रम डा. हरिदेवप्रसाद यादव, डा. वंशदीप खरेल, डा. सबरी साह, डा. शोभाराम सुवेदी, पुनः डा. सवरी साह, डा. श्याम बाबु यादव, डा. सवरी साह, डा. बासुदेव उपाध्याय, डा. रामदेव यादव, डा. बासुदेव उपाध्याय र हाल डा. प्रदीप केसी कार्यकारी निर्देशकका रुपमा आएका छन् । डा. केसीको पनि भने वैद्यखानामा होइन । उनी स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक हुन् । उनलाई थप जिम्मेवारी अन्तर्गत मन्त्रालयले ११ औं तहका सहसचिव भएका कारण वैद्यखानामा पठाएको हो ।
२०५२ सालयता गठनादेशबाट सञ्चालन भैरहेको सिंहदरवार वैद्यखाना विकास समितिमा ११ औं तहका विशिष्ठ अधिकारी कार्यकारी निर्देशक र सदस्य सचिव हुने व्यवस्था छ । तर, विकास समितिले पूर्णता पनि नपाउने र ऐन अनुरुप ११ औं तहको कार्यकारी निर्देशक पनि नपाउने व्यवस्था छ । झन् पछिल्लो कर्मचारी समायोजनले त ११ औं तहमा आयुर्वेद विधाका विशेषज्ञ पुग्ने बाटो नै अड्काइदिएको छ ।
बल्लतल्ल १ सय ५० थरि औषधिको नविकरण
कुनैबेला वैद्यखानाले १ सय ५० थरिभन्दा बढि औषधि निर्माण गथ्र्यो । ती सबै औषधिको अनुसन्धान, विकास र प्रवद्र्धन गज्जब थियो । दर्जनौं औषधि गाँजाबाट बन्थ्यो जुन अहिले ठप्प छ । कतिपय बनस्पती र जंगली जनावरको अंगबाट बन्ने औषधि वन मन्त्रालयको अवरोधका कारण बन्न छाडेका छन् । पछिल्लो समय शीलाजीत र च्यवनप्रासजस्ता औषधिमा खुम्चिएर आफ्नो अस्तित्वमात्र जोगाइराखेको वैद्यखानामा डा. प्रदीप केसीले निर्देशक भएलगत्तै १ सय ५० वटा औषधिको औषधि व्यवस्था विभागमा दर्ता नविकरण गराएर यस आर्थिकवर्षमा उत्पादनलाई बढाउने लक्ष्य राखेका छन् ।
यस आर्थिकवर्षमा वैद्यखानाले काष्ठ औषधि १५ हजार किलोभन्दा बढि उत्पादन गरेर २ करोड ६० लाखको औषधि बेच्ने योजना बनाएको छ । रस रसायन औषधिको उत्पादनलाई २ सय ८० किलोभन्दा बढि उत्पादन गरेर २९ लाखको बिक्रि गर्ने, आसव, अरिष्ट, अवलेह, पाक, घृत, तैल, मलम र सन्धान औषधि २६ क्विन्टलभन्दा बढि निर्माण गरेर ५ करोड ४८ लाखक बिक्रिलक्ष्य निर्धारण गरेको छ ।
वैद्यखानाले विगत ३ वर्षदेखि उत्पादन ठप्प भएको त्रिफला चूर्ण, शुद्ध शिलाजीत, मृत सञ्जीवनी सुरा, अश्वगन्धा चूर्ण, शतावरी ग्रानुयल्स, तुलसी, चिया, महायोगराज गुग्गुल, कैशोर गुग्गलु, च्वनप्राशवलेह साधारण च्वनप्राशावलेशह स्पेशलजस्ता औषधिको उत्पादन पुनः थालेको छ ।
दरबारले प्रत्यक्ष निगरानी गर्ने वैद्यखाना बन्यो अभिभावकविहीन
सिंहदरवार वैद्यखानाको वैभव २०५२ सालसम्म रह्यो । सो समयसम्म वैद्यखानालाई आयुर्वेद विभाग, स्वास्थ्य मन्त्रालय र राजदरवारले समेत प्रत्यक्ष निगरानी राख्थ्यो । राजा वीरेन्द्रले आफै वैद्यखानाको वार्षिक प्रतिवेदन अध्ययन गर्ने र वैद्यखाना अवलोकन गर्ने गर्दथे ।
तर, पछिका राजनीतिकर्मीले यसलाई उपेक्षा गरे । वैद्यखाना पूर्वीय र आयुर्वेद विज्ञान र ज्ञानको अविछिन्न संस्था भएकाले यसको विकास र सुधार गर्नुपर्ने मान्यता गहिरोसँग कार्यान्वयन भएको थियो । तर, विकास समितिमार्फत सञ्चालन हुनथालेपनि यो संस्था बहुदलपछि बिग्रिएर तन्नम भएका अन्य सार्वजनिक संस्थाजस्तै राजनीतिक भर्तिकेन्दका रुपमा परिणत भयो । जसका कारण गठनादेशबाट चल्न थालेको ३ दशकमा संस्था लगभग समाप्त हुने चरणमा पुगेको हो ।
वैद्यखाना सुधार गर्न डा. केसीका ६ सुत्र
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक समेत रहेका डा. प्रदीप केसीले वैद्यखालाई सुधार गर्न ६ वटा सुत्र अघि सारेका छन् । उनका अनुसार मन्त्रालयले तत्काल वैद्यखाना विकास समिति गठन गरि वैद्यखानाको अध्यक्षको जिम्मेवारी तोकिदिने, वैद्यखानाको २०७० सालमा स्वीकृत दरबन्दी र हाल तलबभत्ता शीर्षकमा विनियोजित बजेट अनुसारका दरबन्दी स्वीकृत गरी संस्थाको कार्यकारी पक्षलाई पूर्णता दिने र वैद्यखानाको समयानुकुल र बहुक्षेत्रगत संलग्नता सहित पुनर्संरचनाको खाका बनाउने तयारी छ । त्यस्तै, सिंहरदरवार वैद्यखाना विकास समितिका स्थायी कर्मचारीलाई स्वेच्छिक अवकाशको नियमानुसार उपदा कोषका व्यवस्था गरी अवकाश दिने, कच्चपदार्थ खरिद र मेशीनरी उपकरणमा एकपटक लगानी गर्ने, जडिबुटी संकलन, प्रशोधन मूल्य निर्धारण गर्ने गरी बहुक्षेत्रगत संलग्नता हुने खालको अधिकारसम्पन्न समिति गठन गर्ने योजना अघि सार्न लागिएको छ ।