

कालीकोट – कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पूस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। कुटपिटपछि राति अस्पताल परिसरमा समेत तोडफोड भएको अस्पताल प्रशासनले जनाएको छ।
शुक्रबार दिउँसो अस्पताल परिसरमा दुई बालकले भिडियो गेम खेलेर बिरामीलाई असर पारेपछि स्वास्थ्यकर्मीले उनीहरूलाई सम्झाएका थिए। सोही विषयलाई लिएर सुरु भएको विवाद उग्र बन्दा चिकित्सक डा. अलि हैदर राईन, स्टाफ नर्स शान्ता गिरी र सुरक्षा गार्ड गजेन्द्र बममाथि कुटपिट भएको हो।
अस्पताल व्यवस्थापक जन्मऋषि न्यौपानेका अनुसार दिउँसोको घटनापछि राति पुनः एक समूह अस्पतालमा प्रवेश गरी तोडफोड गर्नुका साथै अनमी उषा शाही, अहेव विष्णु रोकाया र सुरक्षा गार्ड दर्न दमाईमाथि आक्रमण गरेको थियो।
घटनापछि प्रहरीले रातभर अस्पतालमा सुरक्षा दिएको थियो। कुटपिट तथा तोडफोडमा संलग्न भएको आरोपमा पलाता–९ थिर्पूकी मैना बम, उनका पति सुशीलकुमार बम र स्थानीय तपेन्द्र बमलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी हिमबहादुर खत्रीले बताए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सामान्य विवादले उग्र रूप लिएर कुटपिट र तोडफोड भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अस्पताल प्रमुख डा. राईनका अनुसार स्वास्थ्यकर्मीहरू केही समयदेखि स्थानीय सुशीलकुमार बमको घरमा भाडामा बस्दै आएका थिए। अस्पताल व्यवस्थापन समितिको निर्णयअनुसार करिब एक साताअघि उनीहरू अस्पतालकै क्वाटरमा सरेपछि घरधनी पक्षसँग विवाद बढेको उनको दाबी छ।
शुक्रबार दिउँसो बाजुराका एक बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेका बेला घरधनी पक्षका दुई बालक अस्पताल परिसरमा आएर भिडियो गेम खेल्न थालेका थिए। बिरामीलाई असर परेको भन्दै सुरक्षा गार्ड र चिकित्सकले उनीहरूलाई अन्यत्र गएर खेल्न आग्रह गरेपछि विवाद सुरु भएको डा. राईनले बताए।
उनका अनुसार स्टाफ नर्स गिरीले समेत बालबालिकालाई अस्पताल परिसरमा बिरामीलाई असर पर्ने गरी खेल्न नहुने भन्दै सम्झाउने क्रममा उनीमाथि आक्रमण भएको थियो। छुट्याउन खोज्दा आफू पनि कुटिएको डा. राईनको भनाइ छ।
घटनापछि राति पुनः अस्पतालमा प्रवेश गरी तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको अस्पताल प्रशासनको दाबी छ।
यता स्थानीय सुशीलकुमार बमले भने आफ्नो १३ वर्षीय छोरालाई चिकित्सकले कुटेको आरोप लगाएका छन्। उनले छुट्याउने क्रममा चिकित्सकले बालकमाथि कुटपिट गरेको दाबी गरेका छन्।
पलाता गाउँपालिकाका अध्यक्ष विष्णुवहादुर रोकायाले स्वास्थ्य संस्थामै स्वास्थ्यकर्मीमाथि कुटपिट र भौतिक संरचनामा तोडफोड हुनु दुःखद भएको बताएका छन्। दुर्गम क्षेत्रमा सेवा दिइरहेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ।
स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले पनि घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। उनका अनुसार स्वास्थ्यकर्मीहरू घरबाट अस्पतालको क्वाटरमा सरेको विषयलाई लिएर विवाद बढेको हो।
उनले यसअघि पनि थिर्पूका स्थानीयबाट तत्कालीन जिल्ला अस्पताल प्रमुख डा. संकेत विश्वकर्मामाथि हातपात भएको दाबी गरे।
घटनापछि कालीकोट जिल्लाभर कार्यरत स्वास्थ्यकर्मीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। घटनास्थल जिल्ला सदरमुकाम मान्मबाट करिब ४८ किलोमिटर टाढा पर्छ।



