

काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले हेड एन्ड नेक क्यान्सरको उपचारमा एक दशकको यात्रा पूरा गरेको छ। सन् २०१६ देखि नेपालमै जटिल हेड एन्ड नेक तथा मुखको क्यान्सरको समयमै र गुणस्तरीय उपचार गर्ने उद्देश्यसहित सुरु गरिएको सेवाले शल्यचिकित्सा, पुनर्निर्माण, अत्याधुनिक पूर्वाधार र बहुविषयगत उपचार प्रणाली विकास गर्दै १० वर्ष पूरा गरेको हो।
अस्पतालले आफ्नो एक दशकको सफलताको अवसरमा आयोजित प्रेस मिटमार्फत नेपालमा हेड एन्ड नेक क्यान्सरको अवस्था, उपचारका चुनौती र अस्पतालले विकास गरेको उपचार प्रणालीबारे जानकारी दिएको छ।
नेपालमा हेड एन्ड नेक क्यान्सर, विशेषगरी मुखको क्यान्सर, महत्वपूर्ण स्वास्थ्य समस्याका रूपमा रहेको अस्पतालले जनाएको छ। उपलब्ध तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब १ हजार ३६९ जना मुखको क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् भने करिब ८४३ जनाको मृत्यु हुने गरेको छ।
मुखको क्यान्सरका प्रमुख जोखिम तत्वमा सुर्तीजन्य पदार्थ, खैनी तथा अन्य धूमरहित सुर्तीजन्य पदार्थ, सुपारी, धूमपान र मदिरा सेवन रहेका छन्। विशेषगरी सुर्ती, सुपारी र मदिराको संयुक्त प्रयोगले जोखिम थप बढाउने गर्छ। नेपाल तथा दक्षिण एसियाली क्षेत्रमा सुपारी तथा सुर्तीजन्य पदार्थको प्रयोग मुखको क्यान्सरसँग महत्वपूर्ण रूपमा सम्बन्धित रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग भए पनि यसको ठूलो भार अझै चुनौतीका रूपमा रहेको छ। यसको प्रमुख कारण जोखिमपूर्ण पदार्थको निरन्तर प्रयोगसँगै रोगका लक्षण देखिएपछि उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न हुने ढिलाइ हो।
प्रस्तुत तथ्यांकअनुसार नेपालमा लक्षण सुरु भएपछि पहिलो स्वास्थ्य संस्थामा पुग्न औसत ३१ दिन, पहिलो सम्पर्कपछि क्यान्सरको निदान हुन थप ४८ दिन र लक्षण सुरु भएको समयदेखि उपचार सुरु हुन करिब ११० दिन लाग्ने गरेको छ। करिब २५ प्रतिशत बिरामीमा लक्षण सुरु भएको ६ महिनाभन्दा बढी समयपछि मात्र उपचार सुरु हुने गरेको तथ्यांकले देखाएको छ।
यसरी उपचारमा हुने ढिलाइका कारण धेरै बिरामी अस्पताल पुग्दा क्यान्सर उन्नत अवस्थामा पुग्ने गरेको अस्पतालले जनाएको छ। ढिलो उपचार, जनचेतनाको कमी, विखण्डित उपचार प्रणाली, जटिल शल्यक्रियाका लागि आवश्यक पूर्वाधार तथा पुनर्निर्माण सेवाको सीमितता नेपालमा हेड एन्ड नेक क्यान्सर उपचारका प्रमुख चुनौतीका रूपमा देखिएका थिए।
यिनै चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल क्यान्सर अस्पतालले सन् २०१६ देखि हेड एन्ड नेक अन्कोलोजी सेवा विकासको यात्रा सुरु गरेको जनाएको छ। अस्पतालले जटिल क्यान्सरको उपचारका लागि शल्यचिकित्सकसँगै एनेस्थेसिया, प्याथोलोजी, रेडियोलोजी, अन्कोलोजी, नर्सिङ तथा पुनर्स्थापना लगायतका विभिन्न विधाका विशेषज्ञलाई एउटै उपचार प्रणालीमा जोड्दै सेवा विस्तार गरेको जनाएको छ।
अस्पतालका अनुसार यसको उद्देश्य केवल क्यान्सरको शल्यक्रिया गर्नु नभई नेपालमै जटिलभन्दा जटिल हेड एन्ड नेक क्यान्सरको समयमै र गुणस्तरीय उपचार गर्न सक्ने प्रणाली निर्माण गर्नु थियो।
“हामीले एउटा सेवा मात्र सुरु गरेका थिएनौँ, नेपालमै विश्वस्तरीय हेड एन्ड नेक अन्कोलोजी सेवा निर्माण गर्ने यात्राको सुरुवात गरेका थियौँ,” अस्पतालले आफ्नो एक दशकको यात्राबारे भनेको छ।
सन् २०१६ मा सुरु भएको यो यात्रा पूर्वाधार निर्माण, शल्यचिकित्सा, पुनर्निर्माण, नवप्रवर्तन र उत्कृष्टता हुँदै सन् २०२६ सम्म आइपुगेको अस्पतालले जनाएको छ।
अस्पतालले आगामी दिनमा पनि जटिल हेड एन्ड नेक क्यान्सरको उपचारलाई थप प्रभावकारी बनाउँदै अत्याधुनिक शल्यचिकित्सा तथा पुनर्निर्माण सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।



