

काठमाडौं : आज विश्व हेपाटाइटिसविरुद्धको दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्षको जुलाई २८ मा हेपाटाइटिसविरुद्धको दिवस मनाउने गरिन्छ। यो वर्ष ‘यो काम गर्ने समय हो’ भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ। हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ ।
कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस ‘ए’ देखि ‘इ’ सम्म गरी पाँच प्रकारका हुन्छन् ।
तुलनात्मक रुपमा हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सि’ बढी घातक हुने गर्छ । ज्वरो आउनु, शरीर पहेँलो हुनु, वाकवाकी, उल्टी हुनु, खान मन नलाग्नु, जिउ दुख्नु, अत्याधिक थकान महसुस हुनु, पिसाब पहेलो हुनु, पेट दुख्नु आदि यो रोगको लक्षण हुन् ।
दुषित पानी तथा खानेकुराको सेवन गर्नाले सरसफाइमा ध्यान नदिनाले, पानी, विषाक्त सुईको प्रयोग, असुरक्षित शारिरिक सम्बन्ध लगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हेपाटाइटिस सम्बन्धि रोगबाट प्रत्येक एक सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने गरेको छ । हेपाटाइटिस बी र सीबाट मात्रै हरेक वर्ष ११ लाख मानिसको मृत्यु हुने गरेको र २ दशमलब २ मिलियन नयाँ विरामी थपिने गरेका विश्व संगठनको तथ्यांक छ ।
हेपाटाइटिसबाट कसरी बच्ने ?
चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ । हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन वरिष्ठ कलेजोरोग विशेषज्ञ डा. सुधांशु केसीको सुझाव छ ।
उनी भन्छन्, ‘हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यो रोग कम हुँदै जान्छ ।’ उनका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ ।


