काठमाडौँ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाअन्तर्गत बीएस्सी नर्सिङ तथा बीएस्सी मिडवाइफ्री समूहको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार उक्त समूहबाट १० हजार ८०५ जना विद्यार्थी योग्यताक्रममा परेका छन्।
आयोगका अनुसार बीएस्सी नर्सिङ तथा बीएस्सी मिडवाइफ्री समूहमा २२ हजार २६८ जनाले आवेदन दिएका थिए। तीमध्ये २१ हजार ५३४ जना परीक्षामा सहभागी भएका थिए भने ७३४ जना अनुपस्थित भएका थिए।
यस समूहको कटअफ स्कोर ४८ रहेको छ। परीक्षामा सबैभन्दा बढी १८१ अङ्क प्राप्त भएको आयोगले जनाएको छ।
यस वर्ष बीएस्सी नर्सिङ अध्ययनका लागि दुई हजार ६४० र बीएस्सी मिडवाइफ्रीका लागि ४० गरी कुल दुई हजार ६८० सिट निर्धारण गरिएको छ। परीक्षामा सहभागी विद्यार्थीको सङ्ख्यालाई आधार मान्दा उपलब्ध सिटभन्दा प्रतिस्पर्धीको सङ्ख्या करिब आठ गुणा बढी देखिएको छ।

त्यस्तै, बीएएसएलपीतर्फ १४५ जना परीक्षामा सहभागी भएकामा १६ सिट निर्धारण गरिएको छ। उक्त विषयको कटअफ स्कोर ६१.७५ र उच्चतम प्राप्ताङ्क १६५.२५ रहेको छ।
ब्याचलर इन पर्फ्युजन टेक्नोलोजीमा १०४ जना परीक्षामा सहभागी भएका छन्। तर, यस विषयमा एक सिट मात्रै निर्धारण गरिएको छ। यसको कटअफ स्कोर ७३.७५ र उच्चतम प्राप्ताङ्क १७६.२५ रहेको आयोगले जनाएको छ।
आयोगले योग्यताक्रममा परेका उम्मेदवारले आफ्नो अनलाइन प्रणालीमार्फत नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ। उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा गलत भरेका परीक्षार्थीको उत्तरपुस्तिका भने रद्द गरिएको आयोगले स्पष्ट पारेको छ।








