

चितवन : चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। तीन सय जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ। उनले भने, ‘डेङ्गुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।’ सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए ।
जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । विशेषगरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गर्दछ। उनले भने, ‘अहिले साउनको सुरुआतदेखि नै डेङ्गुको सङ्क्रमण देखिन थालेको छ।’ यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायःबिहान र बेलुकाको समयमा टोक्छ। वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ



