

काठमाडौँ : भारतको गुजरात राज्यमा चाँदीपुरा भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ। भाइरसको सङ्क्रमित बनाउँदा ५४ जना अस्पताल भर्ना भएका छन् ।
गुजरात सरकारका अनुसार हालसम्म १२४ जनामा चाँदीपुरा भाइरस फेला परिसकेको छ । ग्रामिण भेगमा देखिनएको उक्त भाइरस पछिल्लो समय गुजरातको हमदावाद, वडोदरा, राजकोट, सुरत लगायतका ठूला सहरहरूमा पनि फैलिन थालेको छ ।
गुजरात बाहेक राजस्थानमा पनि चाँदीपुरा भाइरसको सङ्क्रमण फैलिन थालेको छ । राजस्थानमा हालसम्म ६ जनामा चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ । अन्य ५ जनाको उपचार भइरहेको छ। त्यस्तै मध्यप्रदेश र महाराष्ट्रमा पनि चान्दीपुरा भाइरस देखा परेको छ ।
भारतमा पहिलोपटक १९६६ मा महाराष्ट्र राज्यमा उक्त भाइरसको केस फेला परेको थियो। नागपुरको चाँदीपुरमा भाइरसको पहिचान भएको थियो। त्यसकारण उक्त भाइरसको नाम चान्दीपुरा भाइरस राखियो । त्यसपछि सन् २००४, २००६ र २०१९ मा पनि आन्ध्र प्रदेश, महाराष्ट्र र गुजरातमा उक्त भाइरस देखा परेको थियो ।
चान्दीपुरा भाइरस आरएनए भाइरस हो । जुन सबैभन्दा धेरै पोथी प्लेबोटोमाइन प्रजातिको झिङ्गाबाट फैलिन्छ। एडीज एजिप्टी लामखुट्टे पनि यसका लागि कारण मानिन्छ ।
चान्दीपुरा भाइरसको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, फ्लू जस्ता लक्षणहरू देखा पर्ने हुन्छ। जसमा बेहोश हुने, कमजोरी हुने जस्ता लक्षण पनि देखिन्छन् ।
सङ्क्रमित लामखुट्टेमा वा किरा फट्याङ्ग्राले टोकेपछि हुने उक्त भाइरसले शरीरमा प्रवेश गरेपछि व्यक्तिको नस्नायू प्रणालीमा आक्रमण गर्छ र व्यक्तिको इन्सेफलाइटिस अर्थात् मस्तिष्कको तन्तुहरूमा सुन्निने समस्या निम्त्याउने गर्छ ।
चाँदीपुरा भाइरसको सङ्क्रमण भएको २४ देखि ४८ घन्टा भित्र बिरामीको मृत्यु गराउँछ । चिकित्सकका अनुसार यसले बालबालिकामा मृत्यु गराउने दर ८५ प्रतिशत रहेको छ ।



