

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । दूषित पानीले हैजासहित पानीजन्य रोग फैलिने जोखिम भएकोले पिउने पानी र खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको हो ।
हैजा र यसले ल्याउन सक्ने जनस्वास्थ्य तथा वातावरणीय जोखिम घटाउन वडास्तरीय छलफल र तालिम सुरु भएका छन् ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत न:ली बज्राचार्यका अनुसार अहिलेसम्म हैजाका बिरामी भेटिएको छैन । गएको वर्ष भने विभिन्न ठाउँमा बिरामी भेटिएका थिए । ललितपुरमा भने एक जनामा पुष्टि भएको छ ।
हैजाबाट बच्ने सहज उपाय भनेको, पानी तताएर शुद्धीकरण गर्नु हो । लक्षण तथा उपचारका विषयमा जानकारी लिनुपरे महानगरले सञ्चालन गरेको ११८० नम्बरमा फोन गरेर परामर्श लिन सकिने व्यवस्था मिलाएको छ ।



