

जुम्ला : चन्दननाथ नगरपालिकामा स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीहरुले गत वर्ष फागुन महिनादेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् ।
चालु आर्थिक वर्ष ०८०/०८१ को खाता बन्द गर्न एक साता मात्रै बाँकी रहेको छ । तर स्वास्थ्यकर्मीको तलब भत्ताका लागि रकम निकासा नआएर तलब भत्ता नपाएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले गुनासो गरे ।
उनले भने ‘अहोरात्र खटिएर ८० प्रतिशत स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीले लामो समयसम्म तलब भत्ता नपाउनु दुखद पक्ष हो । ’
चन्दननाथ नगरपालिकामा स्वास्थ्य सेवा प्रवाह गर्ने स्थायी २९ जनासहित यहाँको आठ ओटै स्थानीय तहमा कार्यरत दुई जना स्वास्थ्यकर्मीले ०८० फागुन महिनादेखि तलब भत्ता नपाएको जनस्वास्थ्य निरीक्षक महतले बताए ।
स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयले स्थायी स्वास्थ्यकर्मीका लागि अपुग तलब भत्ता जेठ २८ गते माग गर्दा पनि अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि रकम निकासा नगरेको उनले बताए ।
चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार तलब भत्ताको रकम निकास नआएकोले स्वास्थ्यकर्मीलाई उपलब्ध गराउन सकिएको छैन । उनले भने ‘असार २० गतेसम्म निकासा आउने भन्ने छ । निकासा आएपछि एकै पटक पाँच महिनाको तलब उपलब्ध गरिने छ ।’



