

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवाको सूचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्त डा. प्रकाश बुढाथोकीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, “स्वास्थ्य संस्थाले आफ्नो मुख्य प्रवेशद्वार, टिकट काउन्टर, रेडियो इमेजिङ विभाग, प्रयोगशाला विभाग, ओपिडी कक्ष र अन्तरङ्ग विभाग अगाडि ठूला अक्षरमा निःशुल्क सेवाको स्पष्ट जानकारी देखिने गरी सूचना टास्नुपर्छ। ”
सरकारले स्वास्थ्य संस्थाहरुलाई १० प्रतिशत शय्यामा निःशुल्क छ्ट्याउनु पर्ने व्यवस्था गरेको छ ।
डा. बुढाथोकीका अनुसार निःशुल्क उपचार गरिएका बिरामीको विवरण स्वास्थ्य संस्थाको वेबसाइटमा अद्यावधिक गर्नुहुन, सेवाग्राहीको फोटो सहितको प्रगति प्रतिवेदन हरेक हप्ता मन्त्रालयमा पेस गर्न मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
निर्देशन पालन नगर्ने स्वास्थ्य संस्थालाई कानुनको दायरामा ल्याई कारबाही गर्नुका साथै सेवा सम्झौदा रद्द तथा इजाजत अनुमति र नवीकरण रद्द सम्मको कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।



