रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रपुर सरकारी अस्पतालमा एक दिनमा बढीमा १० जनाले मात्रै ‘एक्स–रे’ सेवा पाउने गरेका छन् ।
नगरपालिकाले अधिक क्षमता भएको एक्स–रे उपकरण उपलब्ध गराउन नसकेका कारण डेढ दशकदेखि प्रयोग हुँदै आएको कम क्षमताको उपकरणले दश वटाभन्दा बढी एक्स–रे गर्न नसकिएको हो ।
दैनिक एक सय ५० जनाभन्दा बढी बिरामीको स्वास्थ्य जाँच हुने उक्त अस्पतालमा दश जनाभन्दा बढी बिरामीको एक्स–रे नहुने भएका कारण उक्त सेवा लिन अन्यत्र जानु पर्दा सेवाग्राही मर्काका परेका छन् ।
करिब डेढ दशकदेखि प्रयोग हुँदै आएको उक्त मेसिन १०० ‘एमए’ (मेघा एम्पिएर) को भएका कारण बढीमा दश वटा मात्रै एक्स–रे गर्न सकिने अस्पतालका डा। अशोककुमार यादवले जानकारी दिए।
बढीमा दश जनाले मात्रै एक्स–रे सेवा पाउने भएपछि अन्य बिरामी अन्य अस्पतालमा महँगोमा एक्स–रे गराउन बाध्य छन् । स्वास्थ्य परीक्षण एकातिर एक्स–रे अर्कोतिर हुँदा ओहोरदोहोरले बिरामीलाई झनै समस्या हुने सेवाग्राही नै बताउँछन् ।