

चितवन । भरतपुरमा भण्डारण गरी देशभर बिक्री वितरण हुँदै आएका ‘डर्मासोल’ ब्रान्डका उत्पादनको प्रकृति र आयात प्रक्रियालाई लिएर गम्भीर प्रश्न उठेको छ। भारतमा औषधि उत्पादनको अनुमति लिएको कम्पनीले नेपालका लागि सौन्दर्य प्रसाधन (कस्मेटिक्स) का नाममा औषधिजन्य सूत्र भएका उत्पादन पठाएको भन्दै व्यवसायीहरूले सम्बन्धित सरकारी निकायमाथि छानबिन र कारबाहीको माग गरेका छन्।
भारतको भगवानपुर, बरवाला र डेराबस्सी क्षेत्रमा रहेको युनाइटेड ल्याबोरेटरीजले सौन्दर्य प्रसाधन उत्पादनका लागि आवश्यक अनुमति नलिई औषधि उत्पादनसम्बन्धी अनुमति प्रयोग गरेर नेपालका लागि उत्पादन तयार पारेको दाबी गरिएको छ।
भारतमा सौन्दर्य प्रसाधन उत्पादनका लागि वर्ग ३ र औषधि उत्पादनका लागि वर्ग ५ अन्तर्गत अनुमति व्यवस्था रहेको बताइएको छ। तर, औषधि उत्पादनको अनुमति लिएर तयार गरिएका उत्पादनलाई बाहिरी रूपमा कस्मेटिक्सजस्तै देखिने गरी ‘डर्मासोल’ नाममा नेपाल भित्र्याइएको आरोप व्यवसायीहरूले लगाएका छन्।
चितवनका रविन्द्र बिष्ट नामका व्यक्तिमार्फत उक्त ब्रान्डका उत्पादन नेपाल भित्र्याई देशभर बिक्री वितरण हुँदै आएको बताइएको छ। औषधिजन्य उत्पादनलाई कस्मेटिक्सका रूपमा आयात गरी व्यापार गरिएको भए यसले सरकारी राजस्व, नियामक व्यवस्था र सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूले डर्मासोलका उत्पादनको प्रकृति र आयात प्रक्रियाबारे जिल्ला प्रशासन कार्यालय चितवनलाई जानकारी गराउँदै आएका छन्। औषधिजन्य उत्पादनलाई सौन्दर्य प्रसाधनका नाममा आयात गरी बिक्री गरिएको विषयमा सम्बन्धित निकायले समयमै छानबिन गर्नुपर्ने उनीहरूको माग छ।
यसै क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हालै भरतपुरस्थित डर्मासोलको गोदाममा छापा मार्दै अनुसन्धानका लागि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनलाई जिम्मेवारी दिएका थिए। तर, छानबिनको जिम्मेवारी पाएको निकायले आवश्यक परीक्षण र अनुसन्धान नगरेको आरोप लागेको छ।
गोदाममा छापा मारिएपछि अनुसन्धानको जिम्मेवारी पाएका जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकारी निर्मल घिमिरेले सम्बन्धित उत्पादनको प्रयोगशाला परीक्षण नगरेको र औषधि व्यवस्था विभागलाई समेत जानकारी नगराई अनुसन्धान प्रक्रिया अघि नबढाएको दाबी गरिएको छ। अधिकारी घिमिरेले आफ्नो पदको दुरुपयोग गर्दै सम्बन्धित व्यवसायीसँग मिलेमतोमा काम गरेको हुन सक्ने आशंकासमेत व्यक्त गरिएको छ।
औषधि व्यवस्था विभागलाई किन गराइएन जानकारी ?
औषधिजन्य उत्पादन भएको आशंका गरिएका वस्तुको अनुसन्धानमा औषधि व्यवस्था विभागको भूमिका महत्वपूर्ण हुन्छ। डर्मासोलका उत्पादनको वास्तविक प्रकृति पत्ता लगाउन प्रयोगशाला परीक्षण, उत्पादनमा प्रयोग भएका सामग्रीको विवरण, भारतीय उत्पादन अनुमति तथा नेपालमा गरिएको आयात प्रक्रियाको विस्तृत अनुसन्धान आवश्यक देखिन्छ।

तर, यी विषयमा आवश्यक अनुसन्धान नगरी व्यापारीलाई उन्मुक्ति दिइएको आरोप व्यवसायीहरूले लगाएका छन्। डर्मासोलका उत्पादन औषधिजन्य हुन् भने आवश्यक औषधि दर्ता र आयात अनुमति प्रक्रिया पूरा नगरी नेपालमा कसरी बिक्री वितरण भइरहेको छ भन्ने प्रश्नसमेत उठेको छ। यस विषयमा सरकारी निकायले समयमै स्पष्ट पार्नुपर्ने माग गरिएको छ।
उपभोक्ताको स्वास्थ्य र सरकारी राजस्वमाथि प्रश्न
व्यवसायीहरूले औषधिजन्य सूत्र भएका उत्पादनलाई कस्मेटिक्सको नाममा आयात गरी बिक्री गरिएको भए त्यसले उपभोक्ताको स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने बताएका छन्। यस्ता उत्पादनको गुणस्तर, सुरक्षा र नियामक मापदण्डबारे सम्बन्धित सरकारी निकायले गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने उनीहरूको भनाइ छ।
साथै, उत्पादनको वास्तविक वर्गीकरणभन्दा फरक विवरण दिएर आयात गरिएको भए भन्सार तथा राजस्वसम्बन्धी विषयमा समेत अनुसन्धान हुनुपर्ने माग गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला जनस्वास्थ्य कार्यालय र औषधि व्यवस्था विभागले यस विषयमा तत्काल संयुक्त छानबिन गरी आवश्यक प्रयोगशाला परीक्षण गराउनुपर्ने र सम्पूर्ण आयात तथा बिक्री वितरण प्रक्रियाको अनुसन्धान गर्नुपर्ने माग व्यवसायीहरूले गरेका छन्।




