

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । विश्व मुटु दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशमा समृद्धि र विकास सम्भव नहुने भन्दै स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।
मुख्यमन्त्री थापाले हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा क्याथल्याबसहितको कार्डियो सेवा सञ्चालनका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । हृदयघात भएमा बिरामीलाई तत्काल काठमाडौँ ल्याउन समय लाग्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, हेटौँडा, चितवनलगायत १० वटा अस्पतालमा आवश्यक भ्याक्सिनको व्यवस्था मिलाइएको उनले बताए ।
उनले रसुवामा आएको बाढीपछिको विपद् व्यवस्थापन, क्षतिको विवरण सङ्कलन तथा राहतका काममा प्रदेश सरकार गम्भीरतापूर्वक लागेको बताए । नदीका कोरिडोर तथा बगर क्षेत्रमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सुरक्षित पुनर्निर्माण गरिने उनको भनाइ छ ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले समयमै स्वास्थ्य परीक्षण गराई आफ्नो स्वास्थ्य सूचकबारे नियमित जानकारी राख्नुपर्ने बताए । सरकारले प्रत्येक फागुन महिनालाई नसर्ने रोगको ‘स्क्रिनिङ महिना’ घोषणा गर्ने पहल सकारात्मक रहेको उनको भनाइ थियो ।
समाजको करिब एक चौथाइ जनसङ्ख्यामा कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको सन्दर्भ उल्लेख गर्दै डा. कोइरालाले नियमित व्यायाम स्वास्थ्यका लागि निकै उपयोगी हुने बताए ।



