

काठमाडौं । औषधि व्यवस्था विभागले सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको सहज पहुँच सुनिश्चित गर्न औषधि क्षेत्रका सबै सरोकारवालाबीच सहकार्य र समन्वय बढाउन आग्रह गरेको छ।
विश्व फार्मासिस्ट दिवस २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै विभागका महानिर्देशक भूपेन्द्र भट्टराईले सबल र दक्ष फार्मासिस्ट नै प्रभावकारी औषधि प्रणाली तथा गुणस्तरीय स्वास्थ्य सेवाको महत्वपूर्ण आधार भएको बताएका छन्।
यस वर्षको विश्व फार्मासिस्ट दिवसको नारा ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ रहेको छ। विभागले उक्त नाराले प्रत्येक नागरिकलाई सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्यसँग समेत सम्बन्ध राख्ने जनाएको छ।
महानिर्देशक भट्टराईले प्रत्येक बिरामीलाई सुरक्षित र गुणस्तरीय औषधि उपलब्ध गराउन सम्बन्धित सबै पक्ष एकीकृत प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने बताएका छन्।
उनले औषधिको तार्किक प्रयोग, जीवाणुरोधी औषधिको जिम्मेवार प्रयोग, औषधिको प्रतिकूल असरको निगरानी, औषधि सुरक्षा, बिरामी परामर्श र उपचारमा निरन्तरता जस्ता क्षेत्रमा फार्मासिस्टको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
विभागले युवा फार्मासिस्टलाई बदलिँदो प्रविधि र अभ्याससँगै आफ्नो ज्ञान तथा सीप अद्यावधिक गर्न आग्रह गरेको छ।
डिजिटल स्वास्थ्य सेवा, कृत्रिम बौद्धिकता, दूर–फार्मेसी, औषधि र आनुवंशिकतासम्बन्धी अध्ययन, आधुनिक औषधि उत्पादन तथा क्लिनिकल फार्मेसी अभ्यासजस्ता नयाँ क्षेत्रमा दक्षता विकास गर्नुपर्ने विभागको भनाइ छ।
त्यस्तै, नियामकीय मापदण्डको पालना, व्यावसायिक नेतृत्व, अनुसन्धान र प्रमाणमा आधारित अभ्यासलाई प्राथमिकता दिनुपर्ने विभागले जनाएको छ।
विभागले न्यून गुणस्तरका तथा नक्कली औषधि नियन्त्रणलाई जनस्वास्थ्यको महत्वपूर्ण विषयका रूपमा अघि सारेको छ।
बिरामीको सुरक्षा र जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै गुणस्तरहीन तथा नक्कली औषधिको नियन्त्रण, जोखिममा आधारित बजारपछिको निगरानी र औषधि प्रतिरोधी जीवाणुको समस्या न्यूनीकरणका लागि थप प्रभावकारी काम आवश्यक रहेको विभागले जनाएको छ।
यसका लागि नियामक निकाय, औषधि उद्योग, अस्पताल र विश्वविद्यालयबीच थप समन्वय र सहकार्य आवश्यक रहेको महानिर्देशक भट्टराईले बताएका छन्।
फार्मेसी पेशा र फार्मासिस्टको भूमिका स्वास्थ्य सेवामा थप महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै विभागले उनीहरूलाई आफ्नो ज्ञान, सीप, व्यावसायिक आचरण र सेवामुखी दक्षता निरन्तर अभिवृद्धि गर्न आग्रह गरेको छ।
साथै नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक र फार्मासिस्टबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधि प्रणाली निर्माणमा अघि बढ्न विभागले आग्रह गरेको छ।



