

काठमाडौं : सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्का लागि अनुकूल वातावरण बन्ने र संक्रमित संख्या बढ्न सक्ने बताएको हो ।
‘जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ,’ मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारीको गरेको विज्ञप्तिमा भनिएको छ, ‘मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको संख्यामा समेत बढोत्तरी हुन सक्ने देखिन्छ ।’
गत ६ महिनामा ७२ वटा जिल्लाबाट १२४१ जना डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । डेंगु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनु हो । तसर्थ आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा राख्ने, पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।


