

काठमाडौं : भारतीय दूतावासले नेपालका विभिन्न शहरमा योग उत्सव मनाएको छ । १०औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा दूतावासले काठमाडौंसहित पोखरा, लुम्बिनी, जनकपुर र वीरगंजलगायत नेपालका १० शहरमा शृंखलाबद्ध कार्यक्रमगरी योगाभ्याससहित योग उत्सव मनाएको हो । यस वर्षको नारा ‘स्वयम् र समाजका लागि योग’ भन्ने विषय अनुरूप दूतावासले मुख्य कार्यक्रमअगावै देशका विभिन्न ठाउँमा योगाभ्यासको आयोजना गरेको थियो ।
पोखरा रंगशालामा शुक्रबार एकसाथ ५ हजार जनाले योग गरेका छन् । पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायत सहभागी थिए ।
दूतावासका अनुसार जेठ २५ गते काठमाडौंको पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन गरिएको थियो । असार ५ गते पोखराको फेवा ताल किनारामा योग तथा ध्यान अभ्यासको आयोजना गरिएको थियो । असार ६ गते नै लुम्बिनीमा बृहत् योग प्रदर्शनको गरिएको थियो । कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरालगायत प्रदेशका नेताहरूको उपस्थिति थियो ।
भारतले अघि सारेको प्रस्तावको आधारमा १७५ सदस्य राष्ट्रको समर्थनसहित संयुक्त राष्ट्र संघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा तोकेको थियो ।


