

काठमाडौं : स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयुर्वेद र विभिन्न परम्परागत चिकित्साको नाम दिएर भैरहेका ठगिधन्दा नियन्त्रण गर्न आफुहरुले नीतिगत प्रयास गरिरहेको बताएको छ ।
अन्तराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा बिहीवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डा. प्रदीप केसीले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसँग त्यस्ता संघसंस्था र व्यक्तिको अनुगमन र नियमन गर्ने अधिकार भएपनि दरबन्दी र नीतिगत स्पष्टता नहुँदा अपेक्षाकृत कार्य गर्न नसकिएको बताए ।
हामीले वैकल्पिक चिकित्सा हेर्ने भनेपनि हालसम्म आयुर्वेद बाहेकका वैकल्पिक चिकित्सा हेर्ने दरबन्दी नै सिर्जना गरिएको छैन । यसलाई समाधान गरिदिन हामीले स्वास्थ्य मन्त्रालयलाई भनेका छौं ।
डा. केसीले भने । त्यस्तै विभागले यसवर्षको योग दिवस आफु र समाजका लागि योग भन्ने नाराका साथमा मनाउन लागिएको भन्दै शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक स्वास्थ्यका लागि योग अपरिहार्य रहेको भन्दै यसका बारेमा जनचेतना विस्तार गर्न सञ्चारकर्मीलाई अपिल पनि गरेको छ ।
सन् २०१५ देखि नेपाल र भारतको प्रस्तावमा हरेक वर्ष जुन २१ मा संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय योग दिवस मनाउने परम्पराको सुरुवात गरेको हो ।


