

चितवन : चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा ७ महिनामै मेडिकल सुपरिटेण्डेन्टको फेरि नयाँ जिम्मेवारी तोकिएको छ ।
मन्त्रिस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा बुधवार प्रा.डा. कृष्णप्रसाद पौडेललाई नियुक्त गरेको हो । यो उनको लागि मेसु बन्ने तेस्रो अवसर समेत हो । यसअघि डा. श्रीराम तिवारी अस्पतालका प्रमुख मेसु थिए ।
प्रा.डा. पौडेल बने फेरि ४८ औँ मेसु
यसअघि सोही अस्पतालको ३८ औँ र ४६ औँ मेसु बनिसकेका उनी अहिले अस्पतालको ४८ औँ मेसु समेत बन्ने अवसर पाएका छन् । उनी विसं २०७५ साल असोज ७ गतेदेखि ७६ साल जेष्ठ १ गतेसम्म मेसु बनेका थिए ।
त्यस्तै, दोस्रो कार्यकाल विसं २०७८ साल भदौ १५ गतेदेखि गत साल कार्तिक २१ गतेसम्म रर्यो । उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी यस अस्पतालको समस्या, विकास निर्माणको अवस्था र गुरू योजनालगाएतका समग्र विषयमा निकै जानकार समेत छन् । जसले गर्दा सर्वसाधारणले उनी नियुक्ति भएपछि अब अस्पतालको चौतर्फी विकासको आशा समेत व्यक्त गरेका छन् ।

सफलनै थियो उनको दोस्रो कार्यकाल
उनको दोस्रो कार्यकालमा अस्पतालको दीगो विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउने लगायतका अस्पतालको चौतर्फी विकास निर्माणको काम भएको थियो । बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहमा उनले आफ्नो ध्यान केन्द्रित गरेका थिए ।
अस्पतालको सरसफाइ, भवन निर्माण, कर्मचारी व्यवस्थापन, अस्पतालको सुन्दरता, बिरामी परीक्षण समयको विस्तार, सेवा सुविधा थप गर्ने, बिमाका बिरामीलाई धेरै भन्दा धेरै औषधि दिने, अन्य बिरामीलाई सहज रूपमा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने लगायत अस्पतालको चौतर्फी विकासमा प्रा.डा.पौडेलले जोड दिएका थिए ।
को हुन् प्रा.डा. कृष्णप्रसाद पौडेलको ?
चितवनस्थित भरतपुर अस्पतालका कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन प्रा.डा. पौडेल पेसाले चिकित्सक हुन् । अर्थोपेडिक विषयका प्राध्यापक उनी समाजशास्त्रमा पनि स्नातकोत्तर छन् । चितवनमा प्रा.डा. कृष्ण चिकित्सा क्षेत्रको निकै चिरपरिचित एवम् चर्चित नाम हो । उनलाई नचिन्ने सायदै कम होलान् । उनी निकै जुझारू एवम् केही गरेर देखाउनुपर्छ भन्ने चिकित्सक मध्यमा पर्छन् ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनपश्चात् देशका विभिन्न अस्पतालहरूका साथै विदेशका अस्पतालहरूमा समेत उनले काम गरिसकेका छन् । देश र विदेशमा अध्ययन, तालिम र काम गर्दा बिरामीलाई गर्नुपर्ने उपचारका साथै बिरामीले बोकेर ल्याएको समाज र परिवेशमा चासो राख्ने बानीले उनको मेडिकल सोसियोलोजीमा चाख बढेको हो ।
यसअघि प्रा.डा. पौडेलले नेपाल चिकित्सक संघ चितवनको अध्यक्षको कार्यभार समेत कुशलता पूर्वक सम्हाल्ली सकेका छन् ।
‘सारस्वत रत्न पुरस्कार-२०८०’ प्रदान
नवनियुक्त मेसु प्रा.डा. पौडेललाई ‘सारस्वत रत्न पुरस्कार-२०८०’ प्रदान गरिएको छ । रत्ननगर नगरपालिकाबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने `सारस्वत रत्न पुरस्कार-२०८०´ गत वर्ष डाक्टर पौडेलद्वारा लिखित तेस्रो कृति `लय छुटेको समय´लाई प्रदान गरिएको थियो ।

एक कार्यक्रमबिच डाक्टर पौडेललाई रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले संयुक्तरूपमा दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । प्रतिष्ठानले रत्ननगर नगरपालिकाका स्रस्टाले सिर्जना गरेका तथा प्रकाशन गरेका कृतिलाई पुरस्कार दिइने योजना अनुसार कृति आह्वान गरेको थियो ।
निर्णायक समितिले प्राप्त भएका कृतिमध्ये पौडेलको उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । सो पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र थियो ।
सानैदेखि साहित्यमा रुची
डा. पौडेलले सानैदेखि साहित्यमा निकै रुची राख्दथे । स्कुल पढ्दादेखि नै कविता, गजल, कथा तथा निबन्ध लेखनमा उनको निकै रुची थियो । अहिले पनि उनले चिकित्सा पेशासँगै साहित्यलाई समेत सँगसँगै लगेका छन् ।
उनले ३ वटा पुस्तक लेखिसकेका छन् । जसमा ‘खुसीहरुको वनबास’ नामक कविता संग्रह र ‘कम्मरीदेखि कोभिड कहर’ नामक निबन्ध संग्रह र निबन्धशैलीमा लेखिएको ‘लय छुटेको समय’ उनको तेस्रो कृति हो ।
विकासको सम्भावना बोकेको अस्पताल
भरतपुर अस्पतालले आफ्नो ३१ विगाहा जमिनमा व्यवस्थित पूर्वाधार निर्माण गरी नेपालकै एक नमुना केन्द्रीय अस्पतालको रुपमा विकास गर्न सकिने सम्भावना बोकेको छ ।

राजा महेन्द्रका पालामा बनेको पूर्व–पश्चिम महेन्द्रराजमार्गको लामो सडकखण्ड चितवन र यस आसपासका जिल्लाहरुमा पर्नु, पूर्व तथा पश्चिमका जिल्लाहरुबाटराजधानी प्रवेशको मुख्य मार्ग यही हुनु र तीव्र रूपमा शहरीकरण हुँदै जानुका कारणले पनि चितवन एक चहलपहल हुने जिल्लाका रूपमा चिनिएको छ । यसरी मानिसको चहलपहल बढ्नाले मेडिकल सिटीको रूपमा विकास गर्नुका साथै आफ्नो परिचय स्थापित गर्नसमेत सहयोग गरेको छ । उनको तेस्रो कार्यकालले अस्पतालको मुहार फेर्न सक्नुपर्छ ।

उनको आगामी कार्यकाल कस्तो रहन्छ त्यो भने समयले नै देखाउने छ । नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवन जिल्लासहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लमजुङ, रूपन्देहीसहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।
यस जिल्लाका स्थानीय जनता, राजनैतिक पार्टी, नागरिक समाज, बुद्धिजीवी, आम नागरिक मात्र होइन सरकार तथा उसका विभिन्न निकायहरुले पनि यस अस्पतालको विकास र समृद्धिका लागि निकै चासो दिनुपर्ने देखिन्छ ।


