

काठमाडौँ: नेपाल प्रहरी अस्पताल महाराजगन्ज र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबिच न्युरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा फाउन्डेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे ।
साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह र प्रमुख कार्यकारी अधिकृत गुरुङले उक्त समझदारीपत्र आदानप्रदान समेत गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले यस समझदारीबाट बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्युरोसम्बन्धी उपचारमा थप सहजता हुने बताए ।


