काठमाडौँ : सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्तालाई अनलाइन प्रणालीबाटै स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिपत्र गरेको छ ।
मन्त्रालयले संघीय सरकारको मातहतमा रहेका सबै अस्पताल र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत प्रदेश सरकार मातहत रहेका सबै अस्पताललाई अनलाइन प्रणालीबाट आबद्ध स्वास्थ्य संस्थामार्फत स्वास्थ्य उपचार सेवा सुविधा दिन परिपत्र गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहजीकरण गरिदिन पत्राचार गरे लगत्तै स्वास्थ्य मन्त्रालयले सामाजिक सुरक्षा कोषले औपचारिक, अनौपचारिक तथा स्वरोजगार र वैदेशिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि बमोजिम संघीय सरकार मातहत रहका २० अस्पताललाई अनलाइन प्रणालीबाट आबद्ध स्वास्थ्य संस्थामार्फत स्वास्थ्य उपचार सेवा सुविधा दिन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।