काठमाडौं : अब १०० शय्याका अस्पतालहरूले मेडिकल शिक्षाका दुईवटा कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन् । उनीहरुले प्रोफिसेन्सी सर्टिफिकेट लेभल इन नर्सिङ (पीसीएल) तथा बीएस्सी नर्सिङ (ब्याचलर) तहका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न पाउने भएका हुन् ।
चैत ९ गते चिकित्सा शिक्षा आयोगका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले १०० बेडको अस्पताललाई पीसीएल नर्सिङका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने निर्णय निर्णय गरेको हो ।
बैठकले आयोगको कार्यविधिलाई संशोधन गरेर दुवै कार्यक्रम सञ्चालन गर्न दिने गरी निर्णय गरेको छ । आयोगका उपाध्यक्ष प्राडा अञ्जनी कुमार झाले १०० बेडका अस्पताललाई पीसीएल र स्नातक तहका नर्सिङका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरिएको बताए ।
पीसीएल र ब्याचलर तहका कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेसँगै १५ वटा शिक्षण संस्थाले तत्काल दुवै कार्यक्रम चलाउने पाउने उनले बताए ।
हालसम्म १०० बेडका अस्पताल भएका शैक्षिक संस्थाहरूलाई एउटा मात्रै कार्यक्रम सञ्चालन गर्न दिइएको थियो ।