चितवन : चितवनस्थित खैरहनी नगर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै लगेको छ । नगर अस्पतालले प्रत्येक हप्ता विशेषज्ञ चिकित्सकसँगै दैनिक ओपिडी, गुणस्तरीय फार्मेसी र प्याथोलोजी सेवा दिर्दै आएको छ । नगर अस्पतालका प्रमुख डा. गौरव घिमिरेका अनुसार हप्ताको दुई दिन हाडजोर्नी रोग, भिडियो एक्सरे सेवा र एक दिन स्त्री तथा प्रस्तुती रोगको लागि विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य उपचार सेवा दिइरहेको छ । मंगलबार र शुक्रबार हाडजोर्नी विशेषज्ञ सेवा । सोमबार र बिहीबार भिडियो एक्सरे सेवा, त्यस्तै बिहीबार नै स्त्री तथा प्रस्तुती रोग विशेषज्ञद्वारा स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको उनले जानकारी दिए ।
अस्पतालतमा दैनिक करिब २ सय ५० जना बिरामीले स्वास्थ बिमा कार्यक्रम मार्फत फार्मेसीसेवा लिने गरेका छन् । हामीले बिरामीलाई गुणस्तरीय औषधि वितरणको साथै औषधिले देखाउने नकारात्मक असर र त्यसको प्रभावकारीता विशेषमा विशेष जोड दिइएको कुरा अस्पतालका फार्मेसी अधिकृत नरेश पाण्डेले बताए । यस्तै अस्पतालमा फिजियोथेरापीका सुविधा पनि विस्तार गरिएको छ ।
अस्पतालले यसअघि देखि नै दैनिक ओपिडी र अत्याधुनिक ल्याब सेवा दिइरहेको छ । हाल खैरहनी नगर अस्पताल सहकारीको भाडाको भवनबाट सञ्चालनमा छ । भवन निर्माण अन्तिम चरणमा रहेकाले नयाँ भवनबाट थप सेवा विस्तार हुने अस्पतालका जनस्वास्थ्य निरीक्षक नवीन पराजुलीले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा आउने अधिकांश बिरामी स्वास्थ्य बीमा अन्तर्गतका बिरामी छन् । दैनिक २ सर ५० जना हाराहारी सेवाग्राहीले अस्पतालबाट ओपिडीसहित ल्याव र फार्मैसी सेवा लिने गरेका छन् ।
अस्पतालको आफ्नै एम्बुलेन्स रहेको र गर्भवतीको लागि निःशुल्क रुपमा उपलब्ध गराइएको समेत उनले जानकारी दिए । खैरहनी नगर अस्पतालको बर्थिङ सेन्टरबाट चालु आर्थिक वर्षमा २० जनाले प्रस्तुती सेवा लिएका छन् । अस्पतालमा प्रस्तुती सेवालाई ‘उपमेयर स्वास्थ्य कार्यक्रम’ले थप प्रभावकारी बनाउदै लगेको छ ।
अस्पतालका नर्सिङ्ग इन्चार्ज पुजा गिरीका अनुसार प्रस्तुती सेवा लिने पालिकाभित्रका महिलालाई एम्बुलेन्स सेवा निःशुल्क रहेको छ । त्यस्तै, पहिलोपटक गर्भवती भएका विपन्न गर्भवतीलाई एकपटकलाई सम्पूर्ण रगत जाँच र भिडियो एक्सरे सेवा निःशुल्क गरिएको छ । गर्भवती महिलालाई ईमर्जेन्सी अवस्था परेको खण्डमा रेफर गर्नुपर्ने अवस्थामा समेत एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइएको छ ।
सुत्केरी महिलाको हकमा बच्चालाई दुई जोर र आमालाई एक जोर कपडा सहित नेपाल सरकारले उपलब्ध गराइरहेको दुई हजार ८ सय रुपैयाँ प्रोत्साहन रकम अस्पतालले उपलब्ध गराउदैं आएको छ । सुत्केरी भइसकेपछि स्वास्थ्यकर्मी सुत्केरीको घरमै गएर भेटघाट गर्ने कार्यक्रम समेत रहेको नर्सिङ्ग इन्चार्ज गिरीले बताइन् ।