काठमाडाैं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नीका सर्जन तथा एसोसिएट प्रोफेसर डा रोशन कलवारमाथि प्रहरीले दमन गरेको भन्दै नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ । प्रतिष्ठानको ऐन विपरित प्रतिष्ठानको प्रवेशद्वार अगाडि टाटा डाईग्नोसिस सेन्टर सञ्चालन गरिरहेको भन्दै सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि आक्रोशित बनेका उनी विरोध गरिरहेका थिए । तर, शान्तिपूर्ण रुपमा विरोध गर्दा पनि सुरक्षा निकायले दमन गरेकोमा संघले आपत्ति जनाएको हो ।
संघले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा रोशन कलवारले गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा सुरक्षाकर्मीबाट गरिएको दमन प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतन्त्रमा शान्तिपूर्ण रूपले विरोध गर्ने सबै नागरिकलाई सुरक्षाकर्मीबाट सार्वजनिक रुपमा भएको यस प्रकारको दमनको नेपाल चिकित्सक संघ घोर भत्सर्ना र निन्दा गर्दछ।’ उनले सञ्चारकर्मीहरुलाई गाली गलैज गरेपछि नेपाल पत्रकार महासंघ सुनसरीले इलाका प्रहरी कार्यालय धरान र इलाका प्रशासन कार्यालय धरानमा आइतबार उजुरी दिएको थियो ।
