

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा लिएमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । २४ फागुनमा बसेको स्वास्थ्य बिमा बोर्डको बैठकले सह भुक्तानी कार्यविधि संशोधन गर्दै निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिनेहरूले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो ।
निजी स्वास्थ्य संस्थामा निःशुल्क लक्षित समूह र आकस्मिक सेवा लिन जानेका हकमा भने यो व्यवस्था लागु हुने छैन । यसअघि सह भुक्तानी कार्यविधिअनुसार बिमितले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा १० प्रतिशत कोपेमेन्ट शुल्क तिर्नुपर्ने व्यवस्था लागु गरिएको थियो ।