चितवन : मेडिकल सिटीको रूपमा विकास हुँदै गरेको भरतपुरमा आजदेखि ‘नवौँ नेपाल फर्मा एक्स्पो’ सुरू भएको छ ।
नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजना एक्स्पो चितवन प्रदर्शनी केन्द्रमा सञ्चालनमा आएको हो ।
शुक्रवारदेखि सुरू भएको एक्स्पो यही फागुन २७ गतेसम्म ३ दिन सञ्चालन हुने छ ।
नेपालमा उत्पादित औषधिको उत्पादन प्रविधि, नेपालमा उत्पादित औषधिलाई अन्तर्राष्ट्रियकरण गर्ने उपाय तथा विदेशी प्रविधिको विकास जस्ता विषयमा प्रर्दशनी गरिने आयोजक नेपाल औषधि उत्पादक संघले जनाएको छ ।

एक्स्पोमा भारत, सिंगापुर बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत देशबाट प्रतिनिधिहरु आउँनेछन् । एक्स्पोमा १६० वटा स्टल राखिएका छन् ।
शुक्रवार बिहान प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरी चितवन प्रदर्शनी केन्द्र परिसरबाट सुरू भई भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज, चौबीसकोठी, अस्पताल रोड हुँदै पुनः प्रदर्शनी केन्द्रमा आएर समापन भएको थियो । प्रभातफेरीमा औषधिजन्य व्यवसाय, विभिन्न संघसँस्थाका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो यस वर्ष पनि मेडिकल सिटीको रुपमा विकास भएको भरतपुरमा गरिएको हो । काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोमा सातौँ संस्करणदेखि ३ पटकसम्म लगातार चितवनमा हुँदै आएको छ ।
