डडेल्धुरा : डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु भएको छ । आज (मंगलबार) देखि सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा पढाइ सुरु भएको हो ।
कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालन गरेको मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीले जानकारी दिए ।
उनका अनुसार, १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएका छन् । आज भने तीन जना विद्यार्थी उपस्थित रहेका थिए ।मेडिकल कलेज सञ्चालन हुनु खुसीको खबर भएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले जानकारी दिए । उनले सुदूरपश्चिम विश्व विद्यालयले देखाएको अठोटका लागि धन्यवाद समेत दिए ।
उनले आगामी तीन वर्षमा एमबीबीएस पढाइ सुरु गर्ने अठोट व्यक्त गरे । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले डडेल्धुरा मेडिकल कलेजको सपना बोकेर लागेको भएपनि आज साकार भएको बताए ।
सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रुपमा संचालन गर्ने घोषणा गरेपछि ५ वटा विषयको अध्यापन अनुमति मागिएको थियो ।तर, चिकित्सा शिक्षा आयोगले यसवर्ष भने बिएसी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो ।
एमबीबीएस पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शड्ढयामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ ।