मकवानपुर : मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने राक्सीराङ गाउँपालिका–९ मा केही दिनअघि फैलिएको भाइरल ज्वरोको प्रकोपलाई अहिले स्वास्थ्यकर्मीले उपचार गरी नियन्त्रणमा ल्याइएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
उक्त गाउँपालिका–९ को कालिका माविका विद्यार्थीलगायत दुईवटा टोलका स्थानीय बासिन्दा गरी तीनसय जना एकैचोटी भाइरल ज्वरोको प्रकोपबाट प्रभावित भएको र एक जना वृद्धको उक्त ज्वरोबाट केही दिनअघि मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिएका थिए ।
स्थानीय अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोली औषधिसहित त्यस क्षेत्रमा पुगी थप उपचार गरिरहेको राक्सीराङ गाउँपालिकाका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले उल्लेख गरे ।
अहिले प्रभावित क्षेत्रमा अन्य बासिन्दाको रगत सङ्कलन गर्न आवश्यक चिकित्सा ‘किट’, प्राविधिक जनशक्ति स्थानीय अस्पताललाई थप औषधिसहित त्यसतर्फ पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरे बताए ।