काठमाडाैं : मकवानपुरमा एकै गाउँका १२२ जना भाइरल ज्वरोको संक्रमणबाट बिरामी भएका छन् ।
राक्सिराङ गाउँपालिका-९ टर्लिङमा एक हप्तायता भाइरल ज्वरो फैलिएको छ । ज्वरोकै कारण एक जनाको निधन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार काप्रीले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म १२२ जना बिरामी भएका छन् । ज्वरोकै कारण सोही गाउँका ५५ वर्षका टीकाबहादुर नगरकोटीको निधन भएको उनले बताए । उनको उपचारको क्रममा निधन भएको बताइएकाे छ ।
भाइरल ज्वरो फैलिएको ठाउँमा बिरामी हुनेमा बालबालिकादेखि सबै उमेर समूहका छन् । गाउँपालिकाले भाइरल ज्वरोका बिरामी बढेपछि स्वास्थ्य शिविर नै सञ्चालन गरिसकेको छ ।