भक्तपुर : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ११ वर्ष अवधिमा १२०० वटा सफल मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ ।
छोटो अवधिमा यो सफलता हाँसिल गर्न केन्द्रका कार्यकारी निर्देशक साथै कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वदायी भूमिका र केन्द्रका सम्पूर्ण कर्मचारीहरूको अथक मेहनत र लगनशीलताले संभव भएको कुरा प्रत्यारोपण केन्द्रले जनाएको छ ।
स्थापनाको ११ वर्षमा १२०० वटा मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ गरेको केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोपण गरी सकेको छ भने आगामी साता थप २ जानाको कलेजो प्रत्यारोपण गर्ने तयारी पुरा गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए ।
नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सातवटै प्रदेशमा प्रत्यारोपण तथा डाइलाइसिस सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।