चितवन: चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको “अस्पताल फर्मूलरी २०८०” सार्वजनिक गरिएको छ ।
अस्पतालले आफ्नो तेस्रो संकरणको रूपमा “अस्पताल फर्मूलरी २०८०” बिहीवार विमोचन गरेको अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले स्वास्थ्य डायरीलाई जानकारी दिए । फर्मूलरी अस्पतालको ड्रग एण्ड थेराप्यूटिक कमिटिले तयार पारेको उनले बताए ।
भरतपुर अस्पतालका फार्मेसी ईन्चार्ज सविन लामिछानेका अनुसार “अस्पताल फर्मूलरी २०८०” मा अस्पतालमा प्रयोगको लागि उपलब्ध औषधिहरूको सूची सहितको पुस्तक हो । सो पुस्तकमा औषधिको महत्त्वपूर्ण जानकारी समेत समावेश गरिएको छ ।
जसमा औषधिले कसरी काम गर्छ, सेवन मात्रा, सेवन विधि, सेवन गर्न नमिल्ने अवस्था, सेवन गर्दा ध्यान दिनु पर्ने कुरा, सेवन गर्दा देखा पर्न सक्ने सामान्य देखि जटिल असर, सञ्चय तथा भण्डारण विधि लगायतको जानकारी रहेको उनले बताए । यसअघिको संस्करणमा भन्दा यसपालि केही थप परिष्कृत तथा परिमार्जन गरिएको उनको दाबी थियो ।

पुस्तकले अस्पतालमा उपलब्ध औषधिहरूको सूची सहित महत्त्वपूर्ण जानकारी दिने हुँदा बिरामी हेरचाहमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई सहज हुने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले विश्वास व्यक्त गरे । उनले सो पुस्तक अस्पतालका चिकित्सक तथा अन्य सम्पूर्ण स्वास्थ्यकर्मीलाई समेत उपलब्ध गराईने जानकारी दिए ।
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले “अस्पताल फर्मूलरी २०८०” तयार पारेकोमा सम्पूर्ण टिमलाई बधाई एवम् धन्यवाद ज्ञापन गरे । यसले बिरामीको उपचारमा थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
नेपालको मध्यभागमा अवस्थित यस अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।
नेपालको मध्य भागमा रहेको चितवन जिल्लामा अवस्थित भरतपुर अस्पताल बिशिष्ट एवं अति विशिष्ट सेवाहरू प्रदान गर्ने नेपाल सरकारको यस क्षेत्रकै विश्वासिलो अस्पताल रही आएको छ ।

भरतपुर अस्पतालमा अत्यावश्यक, दीर्घरोगीले सेवन गर्ने, स्वास्थ्य बिमा तथा विपन्न कार्यक्रममार्फत निःशुल्क दिनुपर्ने औषधिसमेत बेलाबखत अभाव हुँदै आएको जनगुनासो निकै सुनिन्छन् । त्यहाँ उपलब्ध औषधिहरूको सूची सहित “अस्पताल फर्मूलरी २०८०” सार्वजनिक गरेको अस्पतालले आगामी दिनमा ती औषधि उपलब्ध गराउन सक्छ या सक्दैन त्यो भने हेर्न बाँकी नै छ ।
उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, दमजस्ता रोगको नियमित तथा अन्य विभिन्न स्वास्थ्य समस्या भएका बिरामीले सेवन गर्नुपर्ने औषधि जस्तो अत्यावश्यक वस्तुको कहिल्यै अभाव हुन नदिन सरोकारवालाको ध्यान जानु जरूरी देखिन्छ ।