काठमाडौं : ललितपुरको बीएन्डबी अस्पतालमा उपचाररत एकजना बिरामी हेल्थ असिस्टेन्टसहित एम्बुलेन्समा चढेर धामीकहाँ पुगेको पाइएको छ ।
२३ दिनदेखि बीएन्डबीमा उपचाररत गत नरबहादुर गुरुङ यही आइतबार बीएन्डबी अस्पतालबाट निस्किएर भुजेलकहाँ पुगेका हुन् ।
भुजेलको जोरपाटीस्थित निवासमा पुगेपछि अस्पतालले २३ दिनमा निको बनाउन नसकेको गुरुङको ढाडको समस्या आफूले केही बेरमै निको पारेको भन्दै भुजेलले भिडिओ पनि बनाएका छन् ।
भिडियोमा भुजेलले ती हेल्थ असिस्टेन्टलाई अस्पतालमा एन्टिबायोटिकले निको नबनाएको बिरामीलाई आफूले फुकेर निको बनाएको भनेको सुनिन्छ ।
यसैबीच अस्पतालमा उपचाररत बिरामी स्वास्थ्यकर्मीसहित धामीकहाँ पुगेको भिडिओ भाइरल भएपछि बीएन्डबीले विज्ञप्ति निकालेर मंगलबार स्पष्टीकरण दिएको छ ।
अस्पताल प्रशासनले उपचाररत गुरुङले आइतबार डिस्चार्ज नभइ अन्यत्र जानुपर्ने बताएको जनाएको छ। अस्पतालबाट डिस्चार्ज नगरेको अवस्थामा गुरुङलाई त्यहीँको एम्बुलेन्समा राखेर एकजना हेल्थ असिस्टेन्ट पनि दिएर बाहिर पठाइएको बीएन्डबीले उल्लेख गरेको छ ।
‘ती बिरामीको समस्याको यस अस्पतालमा निदान नभएको गलत हो । उहाँको मेरुदण्डमा संक्रमण भएको छ। जाँचमा के किटाणुले गर्दा संक्रमण भएको भन्ने पनि पक्का भइसकेको छ’ अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बीएन्डबीले उक्त समस्याको निदानका लागि औषधोपचार समेत भइरहेको जनाएको छ ।