बुटवल : रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा महिलाको लगानी र नेतृत्व महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । तिलोत्तमा-४ ड्राइभर टोलमा ओम महिला तथा बाल अस्पताल अधिकांश महिलाहरूको लगानी तथा सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरूले लिएर अस्पताल सञ्चालनमा आएको हाे ।
सुत्केरी आमाहरू, नवजात शिशु, बालबालिका तथा किशोर किशोरीका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि अस्पताल स्थापना गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मिला शर्माले जानकारी दिइन् । स्थानीय सरकार तिलोत्तमाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पताललाई आगामी दिनमा सय शय्यामा बिस्तार गरिने डा. शर्माले बताइन्।
अस्पतालमा अहिलेसम्म १० करोड बढी लगानी भएको र २५ जनाको शेयर रहेको अध्यक्ष शारदा तिवारीले जानकारी दिइन् । यस अस्पतालमा २१ जना महिला र ४ जना पुरुषको सेयर पुँजी रहेको छ । अस्पतालमा प्रसूति सम्बन्धी सम्पूर्ण सेवा, खोप, एनआईसियू ओपिडी, २४ सै घण्टा इमर्जेन्सी अपरेसनसेवा, २४ सै घण्टा इमर्जेन्सी, औषधि पसल, २४ सै घण्टा प्रयोगशाला सेवा, २४ सै घण्टा जनरल बेड र क्याबिनहरूको सेवा सञ्चालनमा रहेको प्रबन्ध निर्देशक कमदा मल्ल हमालले जानकारी दिइन् । अस्पतालमा ६५ जना कर्मचारीहरू कार्यरत छन्।