चितवन : लामो समय कोरोना भाइरस संक्रमणमुक्त रहेको चितवनमा फेरि संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनले जिल्लामा थप २ जनामा संक्रमण देखिएको जनाएको छ । कार्यालयको शुक्रवारको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । उनीहरू दुवै जना पुरूष हुन । दुवै जना अहिले होम आईसोलेसनमा छन् ।
कार्यालयका अनुसार उनीहरूमा संक्रमण देखिएको झन्डै एकसाता भयो । जिल्लामा गत २४ घण्टामा भने कुनै पनि कोरोना संक्रमित थपिएका छैनन् ।
भरतपुर महानगरपालिकामा थप २ जनामा संक्रमण देखिएसँगै जिल्लामा अहिलेसम्म संक्रमित हुनेको संख्या ३४ हजार १ सय २३ पुगेको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म ३३ हजार ६ सय ७२ जना निको भई घर फर्किएका छन् । यसैबीच जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय ५१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
सावधान रहन विज्ञको सुझाव
कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको भन्दै चिकित्सकले उच्च सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । उनीहरूले घर बाहिर निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।