काठमाडौं : काठमाडौंको केएमसी अस्पतालबाहिर आवासीय चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच झडप भएको छ । झडपपछि आन्दोलनरत चिकित्सकले सडकमा आएर नाराबाजी गरेका छन् ।
निलम्बन गरिएका आवासीय चिकित्सक डा विशद दाहाललाई अस्पतालमा प्रवेश दिनुपर्ने माग राख्दै गेटबाहिर प्रदर्शन गरिएको थियो । त्यसक्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको बताइएको छ ।
केएमसी प्रशासनले डा दाहाललाई आवासीय चिकित्सकको कर्तव्यपालना नगरेको र अनुशासन उल्लंघन गरेको भन्दै यही पुस १२ गतेदेखि एक महिनाकाका लागि निलम्बित गरिएको थियो ।
मंगलबार काठमाडौं विश्वविद्यालयले चिकित्सक दाहालमाथिको निलम्बन तत्काललाई स्थगन गर्न भन्दै केएमसीलाई पत्राचार गरेको थियो । तर केएमसीका सञ्चालक सुनील शर्माले डा दाहाललाई केयू नै फिर्ता पठाउने बताउँदै आएका छन् ।