चितवन : चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको तीव्र गतिमा चौतर्फी रूपमा विकासका कामहरू भइरहेको अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बताए ।
आफूले अध्यक्षको जिम्मेवारी प्राप्त गरेको एक वर्ष पूरा भएको अवसर पारी चितवनका पत्रकारहरूसँग शनिवार अस्पतालमा पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले सीमित स्रोत र साधनका बीच अस्पतालको दीगो विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउने लगायतका अस्पतालको चौतर्फी विकास निर्माणको काम भइरहेको बताएका हुन् ।
पौडेलले अस्पतालमा विगत १ वर्षको अवधिमा भएका मुख्य ७१ वटा कामलाई प्रस्तुत गरेका थिए । अस्पतालमा कार्यभार समालेको एक हप्तामा श्वेतपत्र जारी गरी काम सुरु गरेका पौडेलले एमआरआई खरिद प्रक्रियादेखि क्याथल्याब जस्ता महत्वपूर्ण काम यस अवधिमा भएको बताएका छन् ।
उनले विसं. २०७९ चैत १० गतेको मन्त्रिपरिषदद्बारा भरतपुर अस्पताललाई राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नेम्स) को आंगिक कलेज घोषणा गर्न सफल भएको बताए ।
उनले भने, ‘हाम्रो योजना अनुसार काम बन्यो भने नेपालकै पहिलो सामुदायिक मडिकल कलेजको रूपमा भरतपुर अस्पताल स्थापित हुन्छ । जसले गरिबका छोराछोरीलाई समेत स्वास्थ्य क्षेत्रमा अध्ययन गर्न सहज हुनेछ ।’
उनले अस्पतालमा आवश्यक नयाँ मेडिकल उपकरण, भवन निर्माण लगायतको विकासका काम अघि बढिरहेको समेत जानकारी दिए ।
मुटुका बिरामीलाई अति आवश्यक मानिने क्याथल्याव सेवा समेत अब अस्पतालमा शुरू गर्न लागिएको अध्यक्ष पौडेलले जानकारी दिए । त्यसको लागि प्रक्रिया अघि बढी सकेको उनले बताए । अस्पतालले प्रसूति र सरूवा रोगको छुटाछुट्टै ब्लक समेत निर्माण काम जारी रहेको उनले जनाए ।
उनले अस्पतालको बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहमा आफ्नो ध्यान केन्द्रित भएको बताए ।
अस्पतालको सरसफाइ, भवन निर्माण, कर्मचारी व्यवस्थापन, अस्पतालको सुन्दरता, बिरामी परीक्षण समयको विस्तार, सेवा सुविधा थप गर्ने, बिमाका बिरामीलाई धेरै भन्दा धेरै औषधि दिने, अन्य बिरामीलाई सहज रूपमा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने लगायत अस्पतालले चौतर्फी विकास आफ्नो प्राथमिकतामा रहेको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारी, चितवनका पत्रकारहरू, चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।