

काठमाडौं : काठमाडौं मेडिकल कलेज (केएमसी) ले स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरुमाथि अन्याय गरेको भन्दै विरोध गर्ने एक चिकित्सकलाई कारबाही गरेको छ।
स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत डा विशद दाहाललाई एक महिनाका लागि निलम्बन गरिएको हो। बिहीकार कलेजले एक सूचना जारी गर्दै डा दाहाललाई कलेजबाट एक महिनाका लागि निलम्बन गरेको जानकारी दिएको छ।
डा दाहालसहितका आवासीय चिकित्सकहरुले स्वास्थ्य शिविरका नाममा विद्यार्थीमाथि अमानवीय व्यवहार भइरहेको भन्दै त्यसको विरोध गर्दै आइरहेका थिए।
विद्यार्थीहरुले शिविरका क्रममा एक छाक मात्र खान दिने, रातभर यात्रा गराएर बिहान सबेरै सयौं बिरामी जाँच गर्न लगाउने, शिविरकै क्रममा एक जना आवासीय चिकित्सकलाई गम्भीर रक्तश्राव तथा छारे आउँदा समेत शिविर नरोकिएको लगायतका समस्या देखिएको भन्दै शिविरका नाममा हुने अमानवीय व्यवहार रोकिनुपर्ने बताउँदै आइरहेका थिए ।
