धनगढीः अध्ययन तथा रोजगारीको खोजीमा भारतका विभिन्न सहर पुगेर स्वदेश फर्किनेहरुमा फेरी कोरोना भाइरस देखिन थालेको छ ।
पछिल्लो डेढ सातायता नियमित रुपमा एकदेखि तीन जनासम्ममा दैनिक रुपमा कोराना भाइरस पुष्टि हुन थालेको छ । भारतका विभिन्न सहरबाट सुदूरपश्चिम प्रवेश गर्नेहरुमध्ये केहिमा कोभिड संक्रमण देखा पर्न थालेको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणले देखाएको छ ।
हिजो पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आइपुगेका एक जनामा कोरोना भाइरस देखिएको छ। आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार भारतको बैङ्लोर र हैदरावादबाट फर्किएका ३ जनामा कोरोना देखिएको थियो। नाकास्थित स्रोतका अनुसार लम्की र बेलडाँडीका नागरिकमा कोरोना देखिएको हो। यस अगाडि गत हाप्ता बुधवार र बिहीबार पनि ४ जनामा कोरोना संक्रमण देखिएको थियो।
कोभिड–१९ संक्रमण सुरु भएयता सुदूरपश्चिममा ६ लाख ७१ हजार पाँच सय १० जनाको परिक्षण गरिएकोमा ६२ हजार चार सय ८४ व्यक्तिमा संक्रमण देखा परेको थियो। अहिलेसम्म सुदूरपश्चिममा मात्र कोभिडबाट ६ सय ३७ जनाको मृत्यु भएको छ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ। सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
भारतबाट फर्कने कोभिडको लक्षण देखिएका नागरिकको एन्टीजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको उनले बताए। रुघाखोकी लागेका तथा अन्य लक्षण देखिएकाहरुको नियमित रुपमा कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए।