मकवानपुर : मकवानपुरको हेटौँडा अस्पतालले मिर्गौला रोगीका लागि डायलाइसिस उपचार सेवालाई सहज बनाएको छ । यहाँ हाल मधेस प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमती प्रदेशको सिन्धुली र मकवानपुरका गरी कूल ६६ मिर्गौला रोगीले दैनिक आलोपालो गरी डायलाइयसिस सेवा लिइरहेका छन् ।
हेटौँडा अस्पतालको डायलाइसिस युनिटका इन्चार्ज सीमा कणेलका अनुसार डायलाइसिस सेवा लिनेमा १८ महिला रहेका छन् । मिर्गौला बिरामीले हप्ताको दुईपटक अनिवार्यरुपमा चिकित्सकको परामर्शअनुसार डायलाइसिस सेवा लिइरहेका छन् । उनका अनुसार हेटौँडा अस्पतालमा हाल मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डायलाइसिस गरिरहेका बिरामीको उपचारमा समस्या भएको कणेल बताउछन् । बिरामीलाई थप उपचार गर्नुपर्ने अवस्था आए कहाँ लैजाने भन्ने समस्या रहेको उनको भनाइ छ ।
“विषेशज्ञ चिकित्सक नहुँदा मिर्गौलाका बिरामीले समस्या भोग्नु परिरहेको छ । अस्पतालका अन्य चिकित्सकलाई देखाउने गरिएको छ”, उनले भने । अहिले डायलाइसिस युनिट कक्षमा १३ डायलाइसिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साझँ गरी तीनपटक प्रत्येक बिरामीलाई आलोपालो डायलाइसिस सेवा दिने गरिएको छ ।
डायलाइसिस युनिटमा सङ्घीय सरकारको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय, हेटौँडा उपमहानगरपालिका, रोेटरी क्लब हेटौँडा र आरोग्य स्वास्थ प्रतिष्ठान ललितपुरले डायलाइसिस मेसिन खरिद गरी उपलब्ध गराएको मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा रामचन्द्र सापकोटाले बताए । उनका अनुसार पुराना चारवटा डायलाइसिस मेसिन बिग्रेकाले केही दिनमा प्राविधिक बोलाएर मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने भएको उनले जानकारी दिए ।
मकवानपुरमा मिर्गौला बिरामी चार सयभन्दा बढी पहिचान भएको र उनीहरुले आ–आफ्नो सुविधाअनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनका विभिन्न अस्पतालमा डायलाइसिस सेवा लिँदैआएका जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्यमणप्रसाद घिमिरेले जानकारी दिए । मिर्गौलाका बिरामीलाई तत्काल डायलाइसिस उपचार सेवा पाउन प्रत्येक स्थानीय निकायबाट अनिवार्य सिफारिस लिनुपर्ने र सोही अनुसार विपन्न नागरिक उपचार सेवा कोषअन्तर्गत निःशुल्क डायलाइसिस उपचार सेवा दिने गरिएको छ । सम्बन्धित अस्पताललाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महाशाखामार्फत वार्षिक रकम भुक्तानी दिने गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले बताए ।