काठमाडौं, ६ पुष । नेपाल औषधि उत्पादक संघले प्रत्येक २ वर्षमा आयोजना गर्दै आएको नेपाल फर्मा एक्स्पोको नवौं संस्करण फागुन अन्तिम साता हुने भएको छ ।
यसपटक पनि चितवनमा आयोजना गर्न लागिएको एक्स्पोको संघले शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर घोषणा गरेको हो ।
सो एक्स्पोमा नेपाल, भारत, बंगलादेश, सिंगापुर लगायत देशका १ सय ५० वटा कम्पनीहरुले आफ्ना उत्पादनको प्रदर्शनी गर्नेछन् । यस प्रदर्शनीलाई आयोजक नेपाल औषधि उत्पादक संघले ज्ञान आदानप्रदान, सहकार्य र यस क्षेत्रको बृद्धिविकासका लागि गरिएको नविनतम प्रयोग भनेको छ ।
एक्स्पोमा ३० हजारभन्दा धेरै मानिसले भ्रमण गर्ने अपेक्षा राखिएको औषधि उत्पादक संघ(एप्पोन)का उपाध्यक्ष समेत रहेका फर्मा एक्स्पोका मिडिया को-अर्डिनेटर सन्तोष बरालले जानकारी दिए । सो प्रदर्शनीमा औषधि उत्पादन, प्याकेजिंग लगायत सम्बन्धित विधाका नविनतम आविष्कार र प्रविधिहरु देखाइने बरालको भनाइ छ ।
प्रदर्शनीले देशमा फस्टाउँदै गरेको औषधि उद्योगको विस्तारलाई सहयोग पुग्ने संघका अध्यक्ष महेशप्रसाद प्रधानले बताए । ‘नेपाली औषधि उत्पादनको स्वदेशी हिस्सा ५० प्रतिशत छ भनिएपनि छिट्टै हामी यसलाई बढाएर ८० प्रतिशत भनाउन चाहान्छौं ।’ प्रधानले भने ।
संघले यसअघि प्रदर्शनीको आठौं संस्करणपनि सन् २०२२ मा चितवनमा आयोजना गरेको थियो ।
भिडियो हेर्नुहोस् ।