दाङ : सांसद सुनिलकुमार शर्माले दाङको शान्तिनगर गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा १३ सय १९ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा आयोजना भएको थियो ।
सांसद शर्माले शिविरबाट ओटी रेफर भएका बिरामीहरूलाई काठमाडौँ मेडिकल कलेजमा निःशुल्क अपरेशन गरिने जानकारी दिए।
शिविरमा १७६ जनाको भिडियो एक्सरे, १४३ जनाको ल्याब परीक्षण, ४२ जनाको इसिजी, १४१ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ५३ जनाको दाँत खोलिएको थियो भने, ५३ जनालाई थप उपचारका लागि ओटी रेफर गरिएको छ ।
शिविरमा स्त्री तथा प्रसूति रोग, बाल रोग, जनरल मेडिसिन, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए । स्वास्थ्य शिविरमा केएमसीका २५ जनाको स्वास्थ्य टोली रहेको थियो ।