धनगढी: चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको गेटामा मेडिकल विश्वविद्यालय उपयुक्त नहुने बताएका छन् ।
सोमबार धनगढीको कृष्णमन्दिर धर्मशालामा अनसन तोडेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सुदूरपश्चिममा ३०० शय्याको अस्पताल र मेडिकल कलेज उपयुक्त हुने बताए । विशेषज्ञ सेवासहितको ३०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने भनी सरकारले आफूसँग १६ महिनाअघि सहमति गरेको तर अझै रोकेर राखेको केसीले बताए ।
केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयनलगायतका विभिन्न माग राखेर गत शुक्रबार गेटा अस्पतालमा अनसन बस्न खोज्दा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले अवरोध गरेको थियो । उक्त संघर्ष समितिले गेटामा विश्वविद्यालय बनाउने माग राख्न केसीलाई आग्रह गर्दा नमानेकाले अनसन बस्न अवरोध गरेको बताएको थियो ।
सोमबार पत्रकार सम्मेलनमा केसीले मेडिकल शिक्षाका विषयमा राजनीतिक दलका नेता र स्थानीय कार्यकर्ता विज्ञ हुन नसक्ने बताए । ‘उहाँहरु जसले विश्वविद्यालयको कुरा गर्नुभयो, उहाँहरु न डाक्टर हो, न मेडिकल एक्सपर्ट हो, केही पनि होइन, भनिसकेपछि के आधारमा गर्नुभयो ?’ केसीले प्रश्न गरे ।
विश्वविद्यालयका लागि पूर्वसम्भाव्यता अध्ययन गर्नुपर्ने, ठूलो लगानी र जनशक्ति चाहिने भएकाले तत्काल सम्भव नदेखिएको पनि केसीले बताए । आर्थिक संकटको कारण देखाएर गेटामा सरकारले ३०० शय्याको अस्पताल पनि सञ्चालन नगरेको भन्दै केसीले मेडिकल विश्वविद्यालयका नाममा अलमल्याउन खोजेको बताए ।
केही निजी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय बनाउन राजनीतिक दलका नेताहरु इच्छुक देखिएको भन्दै केसीले त्यसले सुदूरका जनतालाई सहज स्वास्थ्य सेवा नदिने बताए ।