काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोबिन्द केसीले आफ्नो तीन दिने सत्याग्रह आज तोड्ने भएका छन् ।
गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा केसीले ७२ घन्टा पुगेको भन्दै आज सत्याग्रह तोड्ने बताएको केसीका सहयोगी डा अमृत जैसीले जानकारी दिए ।
‘हामीले सत्याग्रह हिजो तोड्ने भनेका थियौं तर, उहाँले ७२ घन्टा नपुगेकाले तोड्न मान्नुभएन’, डा जैसीले भने । बढ्दो उमेर र हालैमात्र शल्यक्रिया गरेका कारण डा। केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ ।
उनका अनुसार डा केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । ‘उहाँको स्वास्थ्य अवस्था बिग्रदै गएकाले स्लाइन चढाउन खोजेका थियौं । तर, उहाँले मान्नुभएन’, डा जैसीले भने, ‘आजदेखि त शैचालय पनि जान नसक्ने अवस्थामा पुग्नुभएको छ ।’
डा केसीले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए ।