काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन)को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको छ ।
प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्रकुमार खड्काले नेपालमा पहिलो पटक मस्तिष्कसम्बन्धी रोगको उपचार तथा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गरिएको जानकारी दिएका छन् । यसअघि नेपालमा ब्रेनको उपचार भएपनि अध्ययन अनुसन्धानका लागि कुनै निकाय थिएनन् ।
केन्द्रमार्फत नै यही मङ्सिर २४ गतेदेखि मस्तिष्क ट्युमरको उपचारका लाग विशेष क्लिनिक सेवा शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा श्रवणकुमार थापाले जानकारी दिएका छन् । उनका अनुसार हाललाई सो सेवा साताको दुई दिन आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको छ ।