अछाम: जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका डा. रवि यादवको काज फिर्ता गरिएको छ । आइतबार यादवको काज फिर्ताको पत्र आएको हो ।
अछाम अस्पतालमा एक्ला स्थायी चिकित्सक रहेका यादवको हाजिर भएको ३ महिना पनि नपुग्दै काज फिर्त गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यादव काज फिर्ता गरिएको जनाएको छ । यादव असोज २ गतेमात्रै अछाम अस्पतालमा हाजिर भएका थिए ।
तत्कालीन (हालै सरुवा भएका) सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले सुदूरपश्चिममा यादवसहितका संघका चिकित्सकहरु पुल दरबन्दीमा ल्याएका थिए । तर उनीहरु अस्पतालभित्रको राजनीतिक दबाब र किचलोका कारण टिक्न भने सकिरहेका छैनन् ।
अछाम अस्पतालका मेसु यादवको पनि राजनीतिक दबाबकै कारण काज फिर्ता भएको बताइएको छ । अस्पतालका व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नेकपा (माओवादी) केन्द्रका नेता शिव बोगटीले भनसुन गराएर मन्त्रालयमार्फत यादवको काज फिर्ता गराएको आरोप लागेको छ ।

बोगटीले हालै नयाँ कर्मचारी भर्नाका क्रममा आफ्ना दल र निकटका मान्छेलाई जागिर लगाउन खोज्दा डा. यादवले रोकेपछि टकराव सुरु भएर काज फिर्तासम्म पुगेको बताइन्छ। आफूले बेथिति रोक्न खोज्दा काज फिर्तामा परेको यादवको भनाई छ ।
तर उता अध्यक्ष बोगटीले भने यादवको कार्यशैलीमाथि प्रश्न उठाउँदै त्यसकै फलस्वरूप काज फिर्ता भएको दाबी गरे। उनले अस्पतालमा हाकिम भएर बस्ने भन्दा बिरामी जाच्ने चिकित्सक चाहिएको भन्दै काज फिर्ता गराइएको जनाए ।
यस्तै हालै यादव मेसु रहेकै बेला अछाम जिल्ला अस्पताललाई सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले कार्य सम्पादनका प्रदेशकै पहिलोसमेत घोषित गरेको थियो ।