चितवन : चितवनस्थित भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि नयाँ ‘बर्थिङ युनिट’ सञ्चालनमा आएको छ । पारिवारिक वातावरणमा प्राकृतिक रूपमा बच्चा जन्माउन सकिने सो युनिट सोमबारदेखि सञ्चालनमा आएको हो ।
युनिटको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरे ।
पारिवारिक वातावरणमा प्राकृतिक रूपमा बच्चा जन्माउन सकिने गरी सो सुविधासम्पन्न बर्थिङ युनिट सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले जानकारी दिए । निक साइमन्स इन्स्टिच्यूटको सहयोगमा निर्माण भएको सो युनिट एक करोड रूपैयाँको लागतमा निर्माण गरिएको उनले बताए । प्रसूति भवनसँगै जोडेर निर्माण गरिएको सो युनिटमा पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ रहेका छन् ।
अस्पतालमा प्रसूति गर्न आएका गर्भवती महिलाको सम्पूर्ण परीक्षण गरी चिकित्सकको निरन्तर आवश्यक नपर्ने तथा आमा र बच्चाको स्वास्थ्यमा कुनै जटिल अवस्था नआएमा मात्रै यस युनिटमा राखिने अस्पतालका स्त्री तथा प्रसूति विभागका प्रमुख प्रा. डा. सुनिलमणि पोखरेलले जानकारी दिए । उनले भने,“यो पारिवारिक वातावरणमा प्राकृतिक रूपमा बच्चा जन्माउन सकिने युनिट हो । प्रसूतिको समयमा महिलालाई अधिक पीडा हुने र उक्त समयमा श्रीमान् तथा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकको अभ्यासलाई यहाँ प्रयोगमा ल्याउन खोजिएको हो ।”
प्रत्येकमा एक जनाका दरले ५ वटा कोठामा एक पटकमा ५ जना महिलाको प्रसूति गराउन सकिने डा. पोखरेल जनाए ।
नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।